• समाचार

    हेटौँडा अस्पतालले डायलाइसिस सेवा संचालन गर्ने

      ओमकार टाइम्स


    मकवानपुर । हेटौंडा अस्पतालले बैशाखको दोस्रो साताबाट डायलाइसिस उपचार सेवा सुरु गर्ने भएको छ ।
    आगामी वैशाख ७ गतेबाट अस्पतालले मृगौला रोगबाट प्रभावित भएका बिरामीहरुलाई डायलाइसिस उपचार सेवा सुरु गर्ने तयारी गरिरहेको हेटौँडा अस्पतालले जनाएको छ ।
    अस्पतालले डायलासिस उपचार सेवा सुचारु गर्नका लागि विशेष कक्षको व्यवस्था गरी ३ वटा डायलासिस मेसिन जडान गर्ने तयारी थालेको छ ।

    हेटौंडा उपमहानगरपालिका र शिभम् सिमेन्ट उद्योगको सहयोगमा अस्पतालले डायलासिस उपचार सेवा सुरु गर्न लागिएको जनाइएको छ ।

    मृगौला रोगबाट पीडित बिरामीहरुलाई उपचार सेवामा सहजता ल्याउन हेटौँडा उपमहानगरपालिकाले २ वटा र शिवम् सिमेन्ट उद्योगले एउटा गरी ३ वटा मेसिन अस्पताललाई उपलब्ध गराइसकिएको छ भने रोटरी क्लब हेटौंडाको सहयोगमा केही हप्ताभित्रै थप दुई वटा डायलाइसिस मेसिन प्राप्त हुने अस्पताल प्रशासनले जानकारी दिएको छ ।

    अस्पतालमा आगामी आर्थिक वर्षको पुस मसान्तसम्ममा मुटु रोग सम्बन्धि उपचार सेवा संचालनका लागि पनि आवश्यक तयारीका काम भइरहेको हेटौँडा अस्पतालका प्रमुख चिकित्सक डा. प्रवीण श्रेष्ठले बताए ।
    मुटु रोगको शल्यक्रिया र नवजात शिशुको आपत्कालिन उपचारको लागि आवश्यक विशिष्ट कक्ष र सम्बन्धित विशेषज्ञ चिकित्सक उपलब्ध गराउन अस्पतालले संघीय सरकार र प्रदेश सरकारसंग समन्वय गरिसकेको उनले बताए ।

    प्रतिकृया दिनुहोस