• राजनीति

    कर्णाली प्रदेश : मुख्यमन्त्रीलाई साथ दिने या नदिनेबारे केन्द्रको निर्णय कुर्दै काँग्रेस

      ओमकार टाइम्स

    सुर्खेत । शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची छ ।

    नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् । उनले काँग्रेस, राप्रपा, एमालेकै माधव पक्षका केही सांसदहरुको समर्थन प्राप्त हुने अपेक्षा गरेका छन् ।

    मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने या नदिने भन्ने सवालमा काँग्रेस भने केन्द्रको निर्णय पर्खेर बसेको छ । बिहान ९ बजे काँग्रेस संसदीय दलको बैठकमा सामान्य छलफल भए पनि ठोस निर्णय नभएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक हिमबहादुर शाहीले  बताए । उनले भने, ‘संसदीय दलको बैठकमा ठोस निर्णय भएको छैन, हामी केन्द्रको निर्णय अनुसार जाने भनेर पर्खेर बसेका छौँ ।’

    उनका अनुसार दिउँसो १ बजेसम्म केन्द्रबाट मुख्यमन्त्री शाहीलाई साथ दिने या नदिने भन्नेबारे निर्देशन आउने छ । सोही अनुसार काँग्रेसले प्रदेशसभामा भूमिका निर्वाह गर्ने उनले बताए ।

    प्रतिकृया दिनुहोस