• राजनीति

    सरकार ढाल्न खोज्नेविरुद्ध प्रतिकारमा उत्रिनुपर्छः ईश्वर पोखरेल

      ओमकार टाइम्स

    उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको राजनीति गलत दिशामा गइरहेको भन्दै त्यसको प्रतिवादमा उत्रनुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै यस्ता गलत क्रियाकलाप विरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताएका हुन् ।

    जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्य विरुद्ध प्रतिवाद गर्नुपर्ने उनको भनाइ थियो । निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो दुर्भाग्य हुने उनले बताए । सरकारले गरेका काम सबै सार्वजनिक भएको र सरकारका राम्रा काम र कमजोरीको हिसाबकिताब चुनावमा हुने भन्दै उनले सरकार ढाल्ने, जनतामा निराशा फैलाउने र अस्तव्यस्त श्रृजना गर्ने प्रयास भए राम्रो नहुने चेतावनी दिए ।

    उनले भने, ‘राजनैतिक अस्थिरता भइरह्यो भने, सरकार ढाल्ने खेल भयो भने । सरकार त ५ बर्षका लागि आएको हो निर्वाचित भएर । सधै बस्छु भनेर हिजो निरंकुश राजाको बेलामा जस्तो त होइन । एउटा अवधिसम्म बस्ने हो । त्यो अवधिसम्म राम्रो काम गर्यो भने जनताले पुरस्कृत गर्छन् ।  राम्रो काम भएन भने जनताले दण्डित गर्छन् । यसलाई त हामीले मानेको हो नि । तर बीचमा नै अनेक खालको जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने, नयाँ खेलोमेलो गर्ने काम सुरु भयो भने यसले दुर्भाग्य निम्त्याउँछ । विकास र निर्माणका काम पनि रोकिन्छन् । समाजमा भद्रगोल श्रृजना हुन्छ । अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरु, विसंगतिहरु देखापर्न खोज्दै छ । सरकार ढाल्ने, सरकार ढाल्ने खेलमा लाग्ने । राजनीतिक र सामाजिक क्षेत्रका नराम्रा कुराको विरोध गर्नु जरुरी छ । सही कुराको पक्षमा गलत कुराको विरुद्धमा हामीले खबरदारी गर्नुपर्छ । यो काम पनि हामीहरुबाट होस् भन्ने कुरा म अनुरोध गर्न चाहन्छु । जनतामा निराशा फैलाउने र अस्तव्यस्त श्रृजना गर्ने प्रयास भयो भने यो राम्रो हुदैन ।’

    उपप्रधानमन्त्री पोखरेलले पछिल्लो समय मुलुकमा देखापरेको राजनैतिक खिचातानीले कामै गर्न नसकिने वातावरण श्रृजना भएको बताए ।  स्थिर सरकार भए मात्र सामाजिक, आर्थिक र भौतिक पुर्वाधार तथा समग्र विकासका काम गर्न सकिने उनको तर्क थियो । उनले आगामी आर्थिक बर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता बढाइने पनि बताए ।

     

    प्रतिकृया दिनुहोस