• राजनीति

    ओलीलाई विष्टको सुझाव = कुनैपनि हालतमा समाधान हुन सक्दैन

      ओमकार टाइम्स

    काठमाडौं । एमालेको खनाल नेपाल पक्षका नेता गोकर्ण विष्टले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी र विनाकारण सांसदहरुमाथि कारवाही गरिएको भन्दै आपत्ति जनाएका छन् ।
    माधव नेपाल पक्षका ३२ जना सांसदलाई ओलीले मंगलबार मात्रै कारवाही किन नगर्ने भन्दै स्पष्टिकरण सोधेका छन् । नेताहरुलाई स्पष्टिकरण सोधे लगत्तै विष्टले आफ्नो फेसबुक पेजमा ‘विगत केहि समययता नेकपा एमालेमा देखा परेका समस्याहरुको समाधानका लागि संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को एकतर्फी र बिनाकारण सांसदहरुमाथि कारबाहीका घटनाहरु अघि बढाइएको’ भन्दै आपत्ति जनाएका छन् ।
    उनले यस्ता कारबाहीका शृखंलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको पनि दावी गरेका छन् ।

    ‘संवादहीनता र कारबाहीको बाटो कुनैपनि हालतमा समाधान हुन सक्दैन । अदालतको फैसला बमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट संचालन गरेर नै एकता जोगाउन सकिन्छ’, विष्टको सुझाव छ ।

    उनले एउटा इमान्दार कार्यकर्ताका लागि पदीय हैसियत भन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथि हुने पनि बताएका छन् । ‘यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहना बमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँताएर विधिमार्फत समाधान खोज्न म आग्रह गर्दछु । पार्टी एकताको रक्षा गरौं’, विष्टको भनाइ छ ।

    प्रतिकृया दिनुहोस