• सम–सामयिक

    जेठ २५ गतेसम्मका लागि भीमफेदी–कुलेखानी सडक बन्द

      ओमकार टाइम्स


    हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग भीमफेदी–कुलेखानी सडक स्तरोन्नतिका लागि आजबाट बन्द हुने भएको छ । सडक स्तरोन्नतिका लागि वैशाख १० गतेदेखि जेठ २५ गतेसम्मका लागि यातायात सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको यातायात पूर्वाधार विकास निर्देशनालय बागमती प्रदेश हेटौँडाले जनाएको छ ।

    यसअघि निर्देशनालयले सो सडक विस्तारको कामका लागि २ महिनासम्म यातायात सेवा बन्द गरेर सडक विस्तारको काम गरेको थियो । हाल सो सडकमा स्लाब ढलान र पिच गर्ने काम भइरहेकाले यातायात सेवा बन्द गर्नुपर्ने अवस्था आएको निर्देशनालयले जनाएको छ ।

    निर्देशनालयका अनुसार, कूल ३४ करोड बजेट विनियोजन गरी सो सडक खण्ड स्तरोन्नतीको काम गरीरहेको छ । १८ करोड रुपैयाँमा भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका र १६ करोड रुपैयाँ देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको निर्देशनालयले जनाएको छ ।

    भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको तथा ढल तथा पर्खाल निर्माण गरिएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौँको दक्षिणकालीका जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको निर्देशनालयले जनाएको छ ।

    छोटो दुरीका दुवै सडक खण्डमा यातायात सेवा बन्द भएपछि हेटौँडा हुँदै काठमाडौं जाने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ ।

    सडक बन्द भएपछि सो सडक भएर सञ्चालन हुने यातायातका साधनहरु त्रिभुवन राजपथ तथा कान्तिलोकपथ भएर सञ्चालन भइरहेका छन् ।

    प्रतिकृया दिनुहोस