• देश

    प्रधानमन्त्री ओली र उद्योगमन्त्री यादवबीच क्याबिनेटमै चर्काचर्की: विधेयकको फाइल फालाफाल

      ओमकार


     

     

    काठमाडौं: लगानी सम्मेलनको तयारी पूरा भएको जानकारी दिन अर्थ मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गर्‍यो। त्यो पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.युवराज खतिवडा र सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटा सहभागी थिए।

     

    लगानी सम्मेलनमा उद्योग/व्यवसायको महत्वपूर्ण भूमिका खेल्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव भने पत्रकार सम्मेलनमा अनुपस्थित थिए। पत्रकार सम्मेलन हुँदा यादव काठमाडौंमै थिए।

     

    तर उनी किन पुगेनन् पत्रकार सम्मेलनमा?

    उनी सहभागी नहुनु कारण हो, प्रधानमन्त्री केपी ओली र उद्योगमन्त्री यादवबीच क्याबिनेटमा भएको विवाद। औद्योगिक व्यवसाय ऐन ०७४ संशोधन गर्न बनेको विधेयकमा भएको विवादले क्याबिनेटमा फाइल नै फालाफाल भयो। यही विवादका कारण यादव महत्वपूर्ण कार्यक्रममै सहभागी भएनन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार औद्योगिक व्यवसाय ऐनबारेमा मन्त्री यादव र ओलीबीच चर्काचर्की भएको हो।

     

    उद्योग मन्त्रालयले तयार पारेको विधेयकलाई मन्त्रिपरिषद्को पूर्वाधार समितिले केरमेट गरेर फिर्ता पठायो। समितिले केही संशोधन गरेर पठाएपछि मन्त्री यादव आक्रोशित बनेका थिए। उनले उद्योग मन्त्रालयले तयार पारेको विधेयक कानुन मन्त्रालयमा पठाउन निर्देशन दिए। ‘उद्योग मन्त्रालयले मन्त्रिपरिषद्को संशोधनलाई अटेरी गरेर पूरानै विधेयक कानुनमा पठायो। त्यही ऐनलाई कानुनले मन्त्रिपरिषद्को विधेयक समितिमा पठायो’ प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने,’यही विषय क्याबिनेटमा छलफल हुँदा फाइल फालाफालको स्थिति भएको हो।’

     

    औद्योगिक व्यवसाय ऐन ०७४ सालमै आएको हो। तर मुलुक संघीय संरचना गएकाले त्यही संरचना अनुसार संशोधन गर्न बनेको विधेयमा विवाद भएको हो।

     

    स्रोतका अनुसार मन्त्री यादवले आफूले राखेको प्रावधान अनुसार नभए विधेयक अगाडि बढाउन नदिने अडान राखे।

     

    ‘ठूला व्यापारीलाई जोगाउने नियम ल्याउने खालको ऐन ल्याउने विषयमा मेरो आपत्ति छ’ उनले प्रधानमन्त्रीसँग भनेका थिए।

     

    विधेयकमा भएको छलफलबारे मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले भने, ‘मन्त्रालयबाट गएको केही विधेयकमा क्याबिनेटमा फरक रुपमा प्रस्तुत भएकोले छलफल भएको हो। तर विवाद भएको होइन।’

     

    उनका अनुसार लगानी सम्मेलनका विषयमा कुनै विवाद छैन। ‘हिजो विधेयक समितिको छलफल भएकोले उहाँ प्रेस मिटमा सहभागी हुन सक्नुभएन। अरु कुनै कारण होइन’ विष्टले भने। स्रोतका अनुसार यही कारण पनि लगानी सम्मेलनमा उनी सक्रिय छैनन्। सम्मेलनमा यादवले एउटा सेसनको मात्रै नेतृत्व गर्दैछन्। सन् २०१७को सम्मेलन उद्योगमन्त्री नविन्द्रराज जोशीको नेतृत्वमा भएको थियो।

    प्रतिकृया दिनुहोस