• धर्म-संस्कृति

    सेतो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न, मूर्ति आज मन्दिरमा राखिने

      ओमकार टाइम्स

    काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ । पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो ।

    जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पुर्याइन्छ । जात्राको तेस्रो दिन बिहीबार लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाइएको थियो । चौथो दिन शुक्रबार भव्य जात्रासहित सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइएको छ ।

    शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर चौथो दिन अन्त्य गरिन्छ । पाँचौँ दिन आर्यावलोकितेश्वर करुणामयसमेत भनिने सेतो मच्छेन्द्रनाथलाई रथबाट निकालेर मन्दिरमा स्थापित गरिन्छ । यसपछि पाँच दिन लामो जात्रा समापन हुन्छ ।

    यस वर्ष कोरोनाको नयाँ भेरियन्टसहितको जोखिम बढ्न थालेकाले स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाइएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिका सचिव सुजीव बज्राचार्यले बताए । बाजा पहिले नै हिँडाएपछि रथ तान्न भीड नबढ्ने र सुरक्षितरुपमा रथ गन्तव्यमा लग्न सकिने विश्वास गरी सावधानीसाथ चार दिने जात्रा सम्पन्न गरिएको उनले बताए ।

    स्वास्थ्य सुरक्षाका विधि अपनाएर सम्पन्न गरियो जात्रा जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको थियो । जात्राका लागि काठमाडौं महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको हो । जसले गर्दा रथयात्रा सुरक्षितरुपमा सम्पन्न गर्न सकिएको हो ।

    वैशाख २ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने संघ संस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा भएको छलफलले स्वास्थ्य सुरक्षाका विधि अपनाएर दूरी कायम गरी गर्ने निर्णय गरेको समितिका संयोजक एवं महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए ।

    एकदिन रथ तानेका युवाले अर्को दिन नतान्ने गरी व्यवस्था मिलाइएको थियो । यसका लागि तीन रङको ज्याकेटको व्यवस्था गरिएको पनि समितिले जनाएको छ । जसले कोरोना सर्नबाट बच्न सकिने आशा गरिएको छ । कोरोना महामारीबाट बच्दै सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको हो । यो नमूना उपत्यकाका अन्य स्थानमा हुने जात्राका लागि पनि काम लाग्ने आशा गरिएको छ ।

    प्रतिकृया दिनुहोस