• विदेश

    कोरोना संक्रमणले भारतको अवस्था झन भयावह

      ओमकार टाइम्स

     भारतमा कोरोना संक्रमित संख्याले नयाँ विश्व रेकर्ड बनाएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना सङ्क्रमित भएका छन् ।
    यो सङ्ख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । एकै दिन यति धेरै संक्रमित संख्या विश्वमै पहिलो भएको समाचारमा जनाइएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पछिल्लो एक दिनमा दुई हजार ६२४ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका छन् ।

    यो सँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक लाख ८९ हजार ५४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कुल एक करोड ६६ लाख १० हजार ४८१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ ।
    कुल सङ्क्रमित मध्ये २५ लाख ५२ हजार ९४० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ ।

    त्यसैगरी अहिलेसम्म एक करोड ३८ लाख ६७ हजार ९९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् । ती मध्ये दुई लाख १९ हजार ८३८ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् । भारतमा गत जनवरी १६ देखि कोरोनाभाइरस विरुद्धको खोप अभियान चलिरहेपनि भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा दिन प्रतिदिन बृद्धि हुदै गएको छ ।

    भारतमा दैनिक ३ लाखभन्दा धेरै कोरोना संक्रमित भेटिइरहेका छन् र यो विश्वकै उच्च रेकर्ड हो । अस्पतालहरुमा बिरामीलाई बेड पाउन मुस्किल छ । संक्रमितसँगै मृतकको संख्या पनि बढिरहेको छ ।
    जसकारण, दिल्ली र मुम्बईका मसानघाटहरुमा शव जलाउने ठाउँ पाउन पनि मुस्किल छ । भारतमा पछिल्लो समय दैनिक २ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । शुक्रबार यहाँ २६ सय जनाको मृत्यु भयो ।

    प्रतिकृया दिनुहोस