• समाचार

    वीरगञ्ज–रक्सौल हतियार गिरोहमा प्रहरीकै संलग्नता, २ थान पेस्तोलसहित एकैदिन ८ कारोबारी पक्राउ

      ओमकार टाइम्स

    वीरगञ्ज – पर्साको वीरगञ्जदेखि भारतको रक्सौलसम्म हातहतियार र लागूपदार्थको धन्दा चलाउँदै आएको एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले वैखाश ८ गते सञ्चालन गरेको ‘अप्रेशन’मा वीरगञ्ज–१६ स्थित शंकराचार्य गेटबाट उनीहरूलाई पक्राउ गरेको हो।

    मकवानपुर मनहरी–५ का २५ वर्षीय राजु रानामगर, रौतहट सखुहवा नगरपालिका–१ घर भई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय अवधेशप्रसाद यादव, पर्सा वीरगञ्ज महानगरपालिका–१२ मुर्ली बस्ने ४३ वर्षीय लालबाबु सिंहलाई प्रहरीले पक्राउ गरेको हो।

    त्यसैगरी वीरगञ्ज–१२ कै ३५ वर्षीय श्यामबाबु कुशवाह, ४२ वर्षीय अरविन्दप्रसाद गुप्ता, वर्ष ४२ का कुँवर सिंह, वीरगञ्ज–१५ का २४ वर्षीय नन्दन सिंह र ३१ वर्षीय रोशन सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ।

    अभियुक्तहरूविरुद्ध लागूऔषध, हातहतियार तथा संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको प्रहरीले बताएको छ। प्रहरी टोलीले जाँच गर्ने क्रममा भारत रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका पैदलयात्री मकवानपुर मनहरी–५ का राजु राना मगरलाई पक्राउ गरेको हो।

    राना मगरको साथबाट सुन्मिका लेखेको स्वचालित पेस्तोल थान–१ र म्याग्जिन थान–२ बरामद भएको हातहतियार मुद्दामा अनुसन्धान थालिएको प्रहरीको भनाई छ।

    ‘अर्का लागूऔषध कारोबारी राम प्रजापतिले मिति २०७८।०१।०८ गते दिउँसो भारतको रक्सौलबाट मुस्तफा भन्ने व्यक्तिसँग २ वटा पेस्तोल १ लाख ५० हजारमा खरिद गरेको, सोमध्येको पेस्तोल थान–१ र म्याग्जिन थान २, तथा लागू औषध डाइजिपाम १०० एम्पुल, नुर्फिन १०० एम्पुल, फिनार्गन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल, निट्राभेट १२ सय ट्याब्लेट ल्याई वीरगञ्ज बसपार्कमा रहेको मनकामना गेष्ट हाउसको कोठा नम्बर १०५ मा बसेको अवस्थामा निम्न व्यक्तिहरूले उक्त पेस्तोल र लागूऔषध लुटपाट गर्ने योजना बनाई अञ्जादी दिउसो ४ बजेको समयमा होटलको कोठाभित्र प्रवेश गरी उक्त लागू औषधहरू, हतियार (पेस्तोल थान १ र म्याग्जिन थान २), मोवाइल फोन सेट थान–४, राम प्रजापतिको दुवै कानमा रहेको सुनको मुन्द्रा थान २ र नगद रू. ७,०००।– लुटपाट गरेको खुल्न आएकाले निजहरूलाई मिति २०७८।०१।१० गते वीरगञ्जका विभिन्न स्थानबाट नियन्त्रणमा लिई पेस्तोल थान २, म्याग्जिन थान ४, सुनको मुन्द्रा अञ्दाजी आधा तोला थान २, नगद रू. ७०००।– ला.औ. (डाइजिपाम, नुर्फिन र फेनार्गन–१००–१०० एम्पुल गरी ३०० एम्पुल), १२ सय पिस निट्राभेट ट्याब्लेट समेत बरामद गरी ला.औ., हातहतियार तथा संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको व्यहोरा सूचित गरिन्छ,’ पर्सा प्रहरीले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    साथै पक्राउ परेका व्यक्तिहरूले काठमाडौं तथा विभिन्न स्थानबाट लागूऔषध तथा हातहतियार खरिद गर्न आउने व्यक्तिहरूलाई भारतको रक्सौल लगेर सम्बन्धित कारोबारीहरूसँग सम्पर्क गराई खरिद गराउने, ओसारपसार गर्न सहयोग गरी कमिशन लिने तथा पछि पुनः निजहरूलाई नै योजना बनाई लागूऔषध, हातहतियार लगायत अन्य धनमालहरू समेत लुटपाट गरी पुनः भारत तथा अन्य कारोबारीहरुलाई बिक्री वितरण गर्न लगायतका आपराधिक कार्यमा पहिलेदेखि नै संलग्न रहेको खुल्न आएको प्रहरीले उल्लेख गरेको छ।

    पर्सा प्रहरीका अनुसार पेस्तोल थान २, म्याग्जिन थान ४, सुनको मुन्द्रा अन्दाजी आधा तोला थान २, नगद रू. ७०००।– ला.औ. (डाइजिपाम, नुर्फिन र फेनार्गन–१००–१०० एम्पुल गरी ३०० एम्पुल), १२ सय पिस निट्राभेट ट्याब्लेट बरामद गरिएको छ।

    प्रतिकृया दिनुहोस