• सम–सामयिक

    कोरोना महामारी बढेपछि उपत्यकामा थप कडाइ

      ओमकार टाइम्स

    काठमाडौं । कोरोना महामारी बढेपछि उपत्यकामा थप कडाइ गर्ने तयारी गरिएको छ । कोरोना रोकथामबारे रणनीति बनाउन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दै छ ।

    सोमबार मध्यान्ह १ बजे संयुक्त बैठक बस्ने लागिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले  बताए । संकट ब्यवस्थापन केन्द्र (सिसीएमसी)ले पाँच सयभन्दा बढी संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

    उपत्यकामा थप क्षेत्रमा कडाइ गर्ने प्रशासनको तयारी छ । संक्रमित धेरै देखिएका ठाउँमा भिडभाड कम गर्ने रणनीति तय गरिने बताइएको छ । काठमाडौँका प्रजिअ पराजुलीका अनुसार सार्वजनिक यातायातको भीडभाड नियन्त्रण गर्नेगरी बैठकले रणनीति तयार गर्नेछ । होटल, रेष्टुराँमा पनि कडाइ गर्ने प्रशासनको तयारी छ ।

    यता, सीसीएमसीको आइतबार बसेको बैठकले शहरी क्षेत्रमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको क्षेत्रमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि थप कदम चाल्नका लागि आज मन्त्रिपरिषद् बैठक समेत डाकिएको छ ।

    मन्त्रिपरिषद्ले यसअघि नै रात्रि ब्यवसाय पूर्णरुपमा बन्द गरेको छ । होटल ब्यवसाय साँझ ८ बजेपछि बन्द गर्ने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस