• देश

    अर्थतन्त्रमा भयावह जोखिम देखियो : अर्थविद्

      ओमकार टाइम्स

    लकडाउनले देशको अर्थतन्त्रमा दिएको चोट निको नहुँदै निषेधाज्ञामा जाने अर्को निर्णय भएको छ । यसले व्यापार व्यवसायदेखि देशको समग्र आर्थिक गतिविधिलाई रोगी बनाउने भन्दै अर्थविदहरुले चिन्ता व्यक्त गरेका छन् ।बौरन थालेको अर्थतन्त्र पुनः रोगी बन्ने विश्लेषण अर्थविद्हरुको छ । कोरोनालाई त लकडाउनले कम गर्ला, तर बिरामी अर्थतन्त्रलाई केले बचाउने भन्दै विज्ञहरुले निषेधाज्ञाको आलोचना गरेका छन् ।

    अर्थविद् केशव आचार्य अर्थतन्त्रको दृष्टिकोणबाट निषेधाज्ञा कुनै पनि हालतमा राम्रो नभएको तर्क गर्छन् । यद्यपि बढ्दो महामारी नियन्त्रणमा निश्चित ठाउँका निषेधाज्ञाबाहेक अरू विकल्प सरकारसँग नभएको उनको बुझाइ छ ।अर्थविद् प्राडा डिल्लीराज शर्मा पनि निषेधाज्ञाका कारण अब अर्थतन्त्र जोखिम अवस्थामा पुग्ने बताउँछन् ।सरकारले घोषणा गरेको निषेधाज्ञा र त्यसले अर्थतन्त्रमा पार्न सक्ने असरबारे हामीले यहाँ केही अर्थशास्त्री एवं उद्योगी व्यवसायीहरूसँग  कुराकानी गरेको छ –

    बौरन थालेको अर्थतन्त्र फेरि अस्वस्थ हुन्छ

    –केशव आचार्य, अर्थविद्

    अर्थतन्त्रको दृष्टिकोणबाट निषेधाज्ञा कुनै पनि हालतमा राम्रो होइन । तर, बढिरहेको महामारी नियन्त्रण गर्न ठाउँअनुसारको कदम चाल्नुको विकल्प पनि छैन ।  निषेधाज्ञा देशव्यापीरूपमा गर्नुहुँदैन । उच्च सङ्क्रमण भएको स्थानमा मात्र  गर्नुपर्छ ।उद्योग कलकारखाना बैङ्क पूरै बन्द नगरी कम्तिमा आधा जनशक्ति वा आलोपालो प्रणालीबाट काम सुचारु राख्न दिँदा केही राहत मिल्छ ।

     

    फेरि पनि काबुभन्दा बाहिर गएको अवस्थामा लकडाउनको विकल्प हुँदैन भन्ने मलाई लाग्छ  । तर, यसबाट बौरिन थालेको अर्थतन्त्र फेरि अस्वस्थ हुन्छ । स्कुल, कलेज, सिनेमा हल पहिलेदेखि नै बन्द छन् । गत वर्षकै लकडाउनले व्यवसायी मर्कामा थिए ।  बैङ्कबाट लिएको लोन अझै तिर्न सकेका छैनन् । सरकारले सबै सहुलियतका लागि राष्ट्र बैङ्कको मात्र मुख ताकेको छ । राष्ट्र बैङ्कले धेरै गरिसक्यो, अब सरकारले नै पहल गर्नुपर्छ ।पहिलाको जस्तो खाद्यान्न बाँड्नेभन्दा पनि उनीहरुलाई केही रकम बाँड्न सकिन्छ । खाद्यान्न पसल बन्द नभएपछि उनीहरुको आवश्यकताको कुरा किनेर चलाउँछन् ।

    सबैभन्दा मारमा तल्लो तहका कर्मचारी पर्छन् । किनभने, कर्मचारी कटौतीमा सबैभन्दा पहिलो प्राथमिकतामा उनीहरु नै पर्ने गर्छन् ।अहिले जथाभावी भएको रकमान्तर (एउटा शीर्षकलाई दिएको बजेट अर्कोमा खर्च गर्नु)  त्यही राहतका लागि खर्च गर्न सकिन्छ । काठमाडौँमा सार्वजनिक यातायात बन्द गरेपछि त्यसको सहचालक र चालकलाई के दिने सरकार स्पष्ट हुनु जरुरी छ ।

    अर्थतन्त्र भयावह जोखिममा जाने देखिन्छ

    – प्राडा डिल्लीराज खनाल, अर्थविद्

    भर्खर अर्थतन्त्रले लय समात्न लागेको थियो । केही क्षेत्र अगाडि बढ्न थाले पनि केही क्षेत्र अझै उठ्न नसकेका बेलामा लकडाउन अथवा निषेधाज्ञाले अर्थतन्त्रलाई जोखिममा धकेल्दैछ । फेरि पनि लकडाउन गर्नुपर्ने स्थितिले अर्थतन्त्रमा भयावह जोखिम देखिएको छ ।यसअघिको लकडाउनमा पनि सरकार आफैंलाई दैनिक खर्च धान्नै सकस परेको थियो । अब फेरि त्यही स्थिति आउन सक्छ । सरकारको राजस्व गुम्न सक्छ ।

     

    सबैभन्दा बढी रोजगारी सिर्जना गरेका साना तथा मझौला उद्योग, यातायात लगायत क्षेत्र नराम्ररी प्रभावित बन्छन् । तल–तलसम्म होटल खोलेर अर्थतन्त्रलाई नयाँ ढङ्गले अगाडि बढाउन खोजिरहेकाहरु नराम्ररी प्रभावित हुनेछन् ।व्यापक खर्च कटौती गरेर राहततिर लगाउनुपर्नेमा सरकारले त्यसो पनि गर्न सकेन । विगतबाट पाठ सिक्न नसकेको सरकारले अर्थतन्त्रमा लात हान्ने प्रयास गरेको छ ।

    के भन्छन् जनस्वास्थ्यविद् ?

    अर्थविदहरुले जस्तै निषेधाज्ञा कोरोना नियन्त्रण तथा रोकथामको उत्तम विकल्प नभएको जनस्वास्थ्यविद्हरुले पनि बताउँदै आएका छन् । जनस्वास्थ्यविद् बाबुराम मरासिनी निषेधाज्ञाले मानवीय र आर्थिक सङ्कट निम्त्याउनेबाहेक कुनै काम नगर्ने बताउँछन् ।बन्दाबन्दी गरे पनि संक्रमण दर बढिरहने मरासिनी बताउँछन् । यनी भन्छन्, ‘बन्दाबन्दीले मानवीय क्षति र आर्थिक अभाव सिर्जना मात्रै गर्छ, कोरोना सङ्क्रमण कम गर्दैन । यसभन्दा अगाडि गरिएका बन्दाबन्दीको उदाहरण देखिसकेका छौँ ।’निषेधाज्ञाको असरबारे मरासिनीको प्रतिक्रिया यस्तो छ–

    बन्दाबन्दीले मानवीय र आर्थिक सङ्कट सिर्जना गर्छ

    –बाबुराम मरासिनी,जनस्वास्थ्यविद्

    सङ्क्रमण दर वृद्धि भएका क्षेत्रमा सरकारले बन्दाबन्दी गरे पनि सङ्क्रमण दर बढिरहन्छ । सरकारले एक जिल्लाबाट अर्को जिल्ला प्रवेश तथा भारतीय स्थलमार्ग हुँदै आउने जानेलाई निगरानी सही तरिकाले गर्न सकेको छैन । समुदायमा भित्रभित्रै कोरोना सङ्क्रमण फैलिरहेको छ ।यो बन्दाबन्दीले मानवीय क्षति र आर्थिक अभाव सिर्जना मात्रै गर्छ, कोरोना सङ्क्रमण कम गर्दैन । यसभन्दा अगाडि गरिएका बन्दाबन्दीको उदाहरण देखिसकेका छौँ ।

     

    कोरोना सङ्क्रमणको पहिलो लहरमा जस्तो एकैपटकमा सबै क्षेत्रमा बन्दाबन्दी हुँदैन होला । तर, अहिलेको बन्दाबन्दीले मानवीय र आर्थिक सङ्कट मात्र सिर्जना गर्छ, तर सङ्क्रमण कम हुँदैन ।कोभिडकै बिरामीले अस्पतालमा भर्ना पाएका छैनन् । काठमाडौँको चक्रपथबाहिर अस्पताल, एम्बुलेन्स छैन । नागढुङ्गाबाट दैनिकमा हजारभन्दा बढी एम्बुलेन्स उपत्यका प्रवेश गर्छन् ।

    सरकारले बालबालिका, गर्भवती, अपाङ्ग, वृद्धावृद्धलाई बन्दाबन्दीका नाममा स्वास्थ्य उपचारबाट वञ्चित गर्न हुँदैन । प्रमुख दायित्वका रूपमा लिनुपर्छ ।बन्दाबन्दीमा अस्पतालमा पुग्न र उपचार गर्न नपाएपछि सामान्य रूपमा हेर्दा पनि मानवीय स्वास्थ्यको क्षति तथा मृत्यु र आर्थिक सङ्कट सिर्जना आम सर्वसाधारणदेखि विभिन्न व्यापार व्यवसायीलाई पर्न जान्छ ।

    प्रतिकृया दिनुहोस