• समाचार

    अहिलेसम्म मोरङमा होल्डिङ सेन्टरको सुरसार नै छैन

      ओमकार टाइम्स

    प्रदेश नं. १ मा मोरङ, सुनसरी र झापासमेत तीन जिल्ला कोरोना महामारीबाट बढी प्रभावित छन् । तर, यी जिल्लाका स्थानीय तह बल्ल–तल्ल होल्डिङ तथा आइसोलेसन सेन्टर निर्माणको सुरसारमा लागेका छन् ।यी जिल्लामध्ये सबैभन्दा बढी प्रभावित मोरङका स्थानीय तह खासै सक्रिय देखिएका छैनन् । मोरङमा कोभिड सङ्क्रमण नियन्त्रण र व्यवस्थापन गर्न डीसीसीएमसीको बैठक त बस्यो, तर, आवश्यक निर्णय गर्न भने सकेको छैन ।

    खासगरी मोरङको विराटनगर अहिले कोरोनाको हटस्पट बनेको छ । तर बिराटनगर महानगरपालिकाले अहिलेसम्म कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारी थालेको छैन ।विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले कोरोना सङ्क्रमितलाई राख्ने आइसोलेसन र होल्डिङ सेन्टर निर्माणको जिम्मा प्रदेश सरकारको रहेको बताए ।

    उनले स्थानीय सरकारले गर्नुपर्ने आवश्यक सम्पूर्ण काम आफूहरुले गरिरहेको भए पनि प्रदेश सरकारले निर्माण गर्नुपर्ने आइसोलेसन र होल्डिङ सेन्टर निर्माणमा चासो नदेखाएको बताए ।‘प्रदेश सरकारले आइसोलेसन र होल्डिङ सेन्टर निर्माणको कामको सुरसार गरेको छैन,’ मेयर पराजुलीले  भने, ‘प्रदेश सरकारले चासो नदिएपछि महानगरले आफ्नै सक्रियतामा केही स्थानमा आइसोलेसन निर्माणमा जुटेको छ ।’

    तर, यो स्थानीय सरकारको कार्यविधिभित्र नपर्ने मेयर पराजुलीले बताए । विराटनगरको बैजनाथपुरमा २५ बेडको आइसोलेसन निर्माणको तयारी भइरहेको उनले जानकारी दिए ।त्यसैगरी, रानी नाकामा मेडिकल टिमसहितको हेल्थ डेक्स राखिएको र महानगरमा एन्टिजेन परीक्षण, टेस्टिङ र ट्रेसिङको काम पनि भइरहेको मेयर पराजुलीले बताए ।विराटनगरमा पछिल्लो समय धेरै मात्रामा सङ्क्रमित बढेकाले जोखिम न्यूनीकरणका लागि कम्तीमा एक हप्ता लकडाउन गर्नुपर्ने बताए ।

    मेयर पराजुलीले प्रदेशस्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बैठकमा आफूले महानगरमा एक हप्ता लकडाउन गर्ने प्रस्ताव लगे पनि त्यो पास नभएको बताए ।उनले यदि महानगरमा कोभिड सङ्क्रमणको जोखिम न्यूनीकरण गर्ने हो भने थोरै समयका लागि भए पनि लकडाउनको विकल्प नरहेको बताए ।मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लामा सङ्क्रमितहरुको दर बढे पनि अहिलेकै अवस्थामा लकडाउन गर्नु समस्याको समाधान नभएको बताए ।

    नागरिकलाई स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्ण कार्यान्वय गराउनेतर्फ अगाडि बढाउन सबै तहबाट लाग्नुपर्ने सीडीओ निरौलाको भनाइ छ । सीडीओ निरौलाले धेरै मानिस होम आइसोलेसनमा बस्ने भएकाले संस्थागत आइसोलेसनको खासै दबाब नरहेको पनि उनले बताए । सीमा नाकामा होल्डिङ सेन्टर बनाउने तयारी भइरहेको बताए ।सेवाग्राहीको भिड हुने सरकारी कार्यालयमा आलोपालो सिस्टम लागू गरिएको सीडीओ निरौलाले बताए । सेवा बन्द गर्नेभन्दा पनि तत्काल मालपोत र नापीमा आलोपालो सिस्टम लागू गरिएको उनी बताउँछन् ।उनले नापी कार्यालय र परीक्षा बोर्डका कर्मचारी पनि कोरोना सङ्क्रमित भएको जानकारी दिए । आवश्यक परेको खण्डमा जिल्ला प्रशासन लगायत अन्य सेवाग्राहीको भिडभाड रहने सरकारी कार्यालयमा पनि आलोपालो सिस्टम लागू गर्दै जाने सीडीओ निरौलाले बताए ।

    प्रतिकृया दिनुहोस