• स्वास्थ

    बाजुरा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषित

      ओमकार टाइम्स

    बाजुरा । बाजुरालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना’ जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ जिल्लालाई आठौँ जिल्लाका रुपमा ‘पूर्ण खोप सुनिश्चितता र दीगोपना’  घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समिति बाजुराद्वारा मङ्गलबार यहाँ  सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य तथा अर्थ विकास प्राकृतिक स्रोत समितिका सभापति गोविन्द कुवँरले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरे । जिल्लाका नौवटै पालिकाका जन्मेदेखि १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका बालबालिकाले खोप पाइसकेकाले सो घोषणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका खोप अधिकृत महेश चन्दले बताएका छन् ।

    प्रत्येक पालिकामा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई समेत खोपको पहुँचमा पु¥याई उनीहरुले सबै खालका खोप पाएपछि सो घोषणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।जिल्लामा हाल दुई हजार ११६ बालबालिकामध्ये आंशिक रुपमा खोप पाएका ४२ बालबालिका र एकजना खोप नै नपाएका बालबालिकालाई खोपको पहुँचमा ल्याएर पूर्ण खोप  सुनिश्चितता तथा दीगोपना घोषणा गर्न सफल भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले बताए ।

    सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य कुँवरले महामारीका बेलामा सरकारले जनताको स्वास्थ्यमा खेलबाड गर्न नहुने बताए । जिल्ला समन्वय समिति बाजुराका  प्रमुख तथा खोप समन्वय संयोजक नरेन्द्रकुमार रोकायाले बालबालिकाले खोप पाउन स्थानीयस्तरका स्वयंसेविकाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।अहिले महामारीका बेला स्वास्थ्यका लागि चाहिने आवश्यक स्वास्थ्य सामग्री र अस्पताल निर्माणका लागि बजेट दिनुपर्ने त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावलले बताए । कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले प्रदेशका आठ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भएको र कैलालीमात्र बाँकी रहेको बताए ।

    प्रतिकृया दिनुहोस