• विदेश

    कोरोनाभाइरस : प्रदेश १ मा भारतीयसहित चार जनाको मृत्यु

      ओमकार टाइम्स

    कोरोना भाइरस सङ्क्रमणका कारण गएको २४ घण्टामा  प्रदेश  १ मा  एक भारतीयसहित चार जनाको मृत्यु भएको छ । धरान र विराटनगरका कोभिड विषेश अस्पतालमा उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

    भारतीय नागरिकको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा आइतबार बिहान ७ः१० बजेतिर मृत्यु भएको हो । भारत जोगवनीका ३० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए ।

    व्यापारको सिलसिलामा जोगवनीबाट नेपाल आएका उनी आफन्तको घरमा बस्दै आएका थिए ।कोरोना पुष्टि भएपछि उनलाई वैशाख १० गते उपचारका लागि भर्ना गरिएको थियो ।

    कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–६ की ६८ वर्षीया वृद्धाको आइतबार बिहान ६ः४० बजेतिर मृत्यु भएको छ । कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार कोरोना पुष्टि भएपछि वृद्धालाई वैशाख १६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

    त्यस्तै सुनसरी ठेगाना भएकी ६० वर्षीया वृद्धा महिलाको शनिबार राति ९ बजेतिर मृत्यु भएको उनले बताए ।

    यता धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ताप्लेजुङका ५९ बर्षीय पुरुष मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा चूडामणि पोखरेलले दीर्घरोगी समेत रहेका मृतकलाई वैशाख १३ गते संक्रमण पुष्टि भएको थियो भने १४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए।

    प्रतिकृया दिनुहोस