• विदेश

    फरिदाबादमा कांग्रेस प्रदेश प्रवक्ता विकास चौधरीको दिनदहाडै हत्या | OmkarTimes.com

      ओमकार


    काठमाडौं । हरियाणाको फरिदाबादमा कांग्रेस प्रदेश प्रवक्ता विकास चौधरीको दिनदहाडै हत्या भएको छ ।

     

    सेक्टर–९ मा आक्रमणकारीहरुले प्रवक्ता चौधरीलाई १० देखि १२ गोली प्रहार गरेका बताइएको छ ।आक्रमणकारीको गोली लागेर घाइते भएका प्रवक्ता चौधरीलाई सर्वोदय अस्पतालमा भर्ती गरिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

     

    प्रवक्तालाई गोली प्रहार गरेको ठाउँबाट १२ वटा गोलीको खोका बरामद गरिएको छ ।

     

    प्रहरी सुत्रका अनुसार प्रवक्ता विकास चौधरीलाई दुई जना आक्रमणकारीले गोली प्रहार गरेका थिए । आफ्नै गाडीमा जिम गइरहेको समयमा प्रवक्ता चौधरीलाई गोली प्रहार गरिएको छ । प्रहरीले सीसी टिभी फुटेजको आधारमा आक्रमणकारीको खोजी गरिरहेको छ ।

     

    प्रहरीका अनुसार यो घटना विहान ९ बजेर दुई मिनेट जाँदा भएको थियो । सो समयमा सेक्टर–९ को हुडा मार्केटको पिएचसीमा जिम गर्न पुगेका थिए । उनी गाडीबाट निस्कदा निस्कदै आक्रमणकारीले गोली प्रहार गरे । प्रवक्ता चौधरीमाथि लगभग १० देखि १२ गोली प्रहार गरिएको छ ।

     

    सीसी टिभी फुटेजमा दुई जना आक्रमणकारीले गोली चलाएको देखिएको बताइएको छ । उनीहरुले प्रवक्ता चौधरीको गर्दन र छात्तिमा गोली प्रहार गरेका छन् । साथै उनको कारको सिसामाथि पनि चार गोली प्रहार गरेका छन् ।

     

    ती दुई आक्रमणकारी सेतो रंगको एसएक्स–४ गाडीमा आएका थिए । अहिले सोही गाडी र आक्रमणकारी खोजी कार्यका लागि प्रहरीले टिम बनाएको छ ।

     

    प्रवक्ता विकास चौधरीको हत्यापछि हरियाणा कांग्रेसका अध्यक्ष अशोक तंवरले भने, ‘यो सीधै जंगली राज हो । कसैलाई कानूनको कुनै डर छैन ।

     

    हिजोको समयमा पनि यस्तै घटना भएको थियो, जहाँ महिला हिंसाविरुद्धको आवाज उठाउने एक महिलालाई छुरा प्रहार गरिएको थियो । विकास चौधरीको हत्याको निष्पक्ष छानविन हुनुपर्छ ।’

     

    विकास चौधरी हरियाणा कांग्रेसको प्रदेश प्रवक्ता थिए । विकासले केही वर्ष पहिले इनेलो छोडेर काँग्रेसमा प्रवेश गरेका थिए ।

    प्रतिकृया दिनुहोस