• देश

    घुस रकमसहित अख्तियारको नियन्त्रणमा रहेका यी इन्जिनियरलाई नेकपाका कार्यकर्ताले कालोमोसो दले

      ओमकार


    काठमाडौ । सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख डिभिजन इन्जिनियर अजित कुमार श्रीवास्तवलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुले कालो मोसो दलेका छन् ।

     

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अजित कुमार श्रीवास्तवलाई नगद दुई लाख घुस रकमसहित पक्राउ गर्ने क्रममा नेकपा निकट युवाहरुले कालोमोसो दलेको नेकपाका जिल्ला सदस्य अर्जुन साउदले सगर्व स्वीकार गरे ।

     

    आजसम्म सम्पन्न भएका हरेक योजनामा इन्जिनियर श्रीवास्तवले १५ देखि २५ प्रतिशतसम्म घुस रकम लिएको आरोप साउदले लगाए ।

    साउदले कञ्चनपुरमा यो भ्रष्टाचार विरुद्धको अभियान सुरु भएको बताए । उनले भने ‘यससँगै कञ्चनपुरमा भ्रष्टाचार विरुद्धको अभियान सुरु गरिएको छ । अझै केही कार्यालयमा अनियमितता भएको भन्ने खबर आएको छ । सबैलाई हामी होसियार भन्न चाहन्छु ।’

     

    बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले श्रीवास्तवसँगै इञ्जिनीयर ग्रिष्मा ठगुन्नालाई घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको थियो ।

     

    श्रीवास्तवले भीमदत्त नगरपालिकामा पर्ने चौधर नदीको तटबन्ध निर्माणको भुक्तानी दिने क्रममा दुई लाख कमिसन माग गरेका थिए ।

     

    अख्तियारका अनुसार घुस लिएको रकम कार्यालय प्रमुख श्रीवास्तवले भान्सा कोठाको चामलको बोराभित्र लुकाएर राखेका थिए ।

    प्रतिकृया दिनुहोस