• कला/ साहित्य

    कथा : पश्चाताप

      दिव्या दाहाल

    म्याम्जेल अरली एक असल,इमानदारी र साहसी महिला थिइन्।बाहीरी दुनियासँग कुनै पनि सम्बन्ध राख्न नरुचाउने उनी दिनहुँ जसो आँफ्नो खेती र फ़ार्ममा व्यस्त रहन्थिइन्।हर बखत मिहिनेत गर्ने उनका पाखुराहरु दरिला थिए।उनी अक्सर काउ ब्वाइ ले लगाउने निकै ठूलो र अनौठो किसिमको ह्याट लाएर आँफ्नै गोठमा काम गरिरहेको अवस्थामा भेटिन्थीन्।

    रातो रंगको उनको कपालमा कहीँ कतै उमेरले पकाउँदै गरेका सेता केस्राहरु देखिने गर्थे।उनी आँफ्नो सानो कटेजमा एक्लै बस्ने गर्थिन्।साथीको नाउमा उनीसँग उनको प्यारो कुकुर पन्टो मात्र थियो।अलि पर उनले राखेका खेतालाहरु बस्ने गर्थे।म्याम्जेल आँफैले रोजेको यो सानो दुनियाँमा खुसी थिइन्।उनले विवाहका बारे सोच्ने फुर्सद पनि पाइनन् र उनलाई त्यो पाउनु पनि थिएन।एक्लोपनमै उनले आँफ्नो सुख महसुस गरिन्।उनले काम र कर्तव्यसँग प्रेम गरिन्,तिनै प्रति समर्पित रहिन्।जनावरहरुको हेरचाह र खेतबारीको गोडमेल नै उनको जीवन बन्न पुग्यो।उनलाई त्यही जिवन प्यारो लाग्थ्यो,त्यसैमा उनले अपनत्व भेटाइन्।

    एकदिनको कुरा हो,मेयाम्जेलकै छिमेककी एक महिला आँफ्ना सन्तानहरु डोर्याउँदै उनको घर आइपुगिन्।ती महिला अत्यन्तै आत्तिएकी थिइन्,हतासीएकी थिइन्।उनका आँखाहरु रसिला थिए।हडबडाउँदै कतै टाढा हिँड्न लागेजस्ती देखिएकी उनलाई आँफ्नी बिरामी आमाकँहा जानु थियो र उनका स्रिमान पनि घरमा थिएनन्।चार स-साना बच्चाहरु बोकेर लामो यात्रा गर्ने साहस उनले गर्न सकिनन् त्यसैले,म्याम्जेललाई केही दिनका लागी उनले आँफ्ना चार बालिकाहरु, मार्कलिन्,मार्कलट,लोडि र नोमि को रेखदेख गरिदिन आग्रह गरिन् विनम्रताका साथ।

    म्याम्जेल एक्ली रहीनन्।ती महिलाको अवस्था देखेर उनले बच्चाहरु सहज रुपमा स्वीकार गरिन्।तर उनका लागी यो कार्य बिलकुलै नौलो थियो।एक्लै बाँच्न रुचाउने उनले आँफ्नो बाहेक अरुको खयाल राख्न जानेकी थिइनन्।धुलाम्मे आँगनमा लडीबुडी गर्दै गरेका बच्चाहरु देखेर उनले सुस्केरा हालीन्।म्याम्जेलको जिवनले नयाँ अध्याय सुरु गरिसकेको थियो।सबैभन्दा पहिला उनले ती बच्चाहरुलाई खुवाइ पियाइ गरिदिइन्।

    अघाएका बच्चाहरु पुन एक अर्काको बुइ चढ्दै खेल्न लागे।केही दिनसम्म उनलाई निकै गार्हो भयो।बच्चाहरुको कोलाहलले अझ बढी टाउको दुखायो।म्यामजेल केटीकेटीहरुको बानी व्यवहार र मनोविज्ञान देखि अनविज्ञ थिइन्।

    मार्कलेट कोहि ठूलो आवाजमा बोल्नासाथ आत्तिएर रुन र चिच्याउन लाग्थिन।नोमिलाई फुलहरु असाध्यै मन पर्थ्यो।म्याम्जेलले मलजल गरेर हुर्काएका फुलहरु उनले केही दिनमै नष्ट गरिदिइन् ।

    म्याम्जेलका निमित्त हरेक दिन असह्य बन्दै गइरहेको थियो।उनीहरुलाई बारम्बार सफा र सुकिला पारेर राख्नु,खुवाउनु र खेलाउनु गर्दा गर्दै उनी असाध्यै थकित हुने गर्थिन्।बेलुकीपख सबैलाई वरिपरि राखी कथा वाचन गर्दै सुताउनु पनि उनका लागी सहज थिएन।यिनीहरुको स्याहार गर्न भन्दा त दोब्बर खेती गर्न सहज हुने थियो भन्दै उनी आँफ्नी साथी रुवीलाई सुनाउने गर्थिन्।रुवीले उनलाई धेरै कुराहरु सिकाइदिइन्।त्यसपछि भने म्याम्जेलका दिनहरु केहि सहज बन्दै गए।बच्चाहरुसँगै रमाउने र खेल्ने बानी बस्दै गयो उनमा।जीवनको त्यो कालखण्ड सम्म एक्लो यात्रा गरिरहेकी उनी अलि बढि नै नै घुलमिल हुन लागिन्।बच्चाहरुकै कारणले उनले धेरै लामो समय पश्चात आँफ्नो बारेमा सोच्न लागिन्।अक्सर लोग्ने मानिसको भेषमा काम गरिरहेकी भेटिने उनी महिलाहरुको पहिरन लगाउने भइन्।

    बच्चाहरुकै हेरचाह गर्ने क्रममा उनी कुटो र कोदालो सँगै सियो र धागो खेलाउने बन्न पुगिन्।कहिल्यै आमा नबनेकी म्याम्जेलको मनमा पनि सायद मातृत्वले जन्म लियो।उनको काखमा हरबखत चार बालिकाहरु मध्ये कोहि न कोहि खेलिरहेको हुन्थ्यो।म्याम्जेललाई यो जिवन पृय लाग्दै गयो।थाहा नपाएरै उनको हृदयले असिम आनन्द महसुस गरिरहेको थियो।

    बच्चाहरुसँग समय बिताएको लगभग दुइ हप्ता बितिसकेको थियो।एक साँझ म्याम्जेलको घर अघि एउटा गाडीआएर रोकियो।गाडीबाट तिनै महिला ओर्लिइन जसले केही दिनअघि आँफ्ना बच्चाहरुलाई म्याम्जेलकहाँ छोडेर गएकी थिइन्।म्याम्जेल अचानक आत्तिइन।बच्चाहरु को कहाँ थिए,उनलाई केहि ख़बर थिएन।उनी जुरुक्क उठिन,बच्चाहरुलाई खोजेर ल्याइन् र उनीहरुकी आमालाई सुम्पिदिइन्।

    केही बेरपछि म्याम्जेल झस्किइन।उनको घर सुनसान थियो।बच्चाहरले छरपस्ट पारेका सामानहरु अचल भएर लडिरहेका थिए।आँगन रित्तो थियो।उनी अचानक आत्तिइन।केही समय अघिसम्म हराभरा उनको मनमा डढेलो लागे सरह भयो।उनी दौडिदैँ भित्र छिरिन र भक्कानिदैँ रुन लागिन्।सायदै उनले कहिल्यै यति कमजोर महसुस गरेकि थिइन् आँफुलाई।म्याम्जेलको दुनियाँ रंगहिन भइसकेको थियो।

    जीवनमै पहिलो पटक उनलाई आँफुले धेरै वर्षअघि लिएको निर्णयप्रति पश्चाताप भयो।
    (यो कथा केट सोपिनले लेख्नुभएको हो भने नेपालीमा अनुवाद दिव्या दाहालले गर्नु भएको हो )

    प्रतिकृया दिनुहोस