• कला/ साहित्य

    गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ विवादमा | ओमकार टाईम्स

      ओमकार


    काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ थप विवादमा मुछिँदै गएको छ ।

     

    भ्वाइस अफ नेपाल पहिलो सिजनका सहायक निर्देशक एवं आइटी हेड फिरोज तिमल्सिनाले आफूले अहिलेसम्म पारिश्रमिक नपाएको फेसबुकमार्फत गुनासो गरेका थिए।

     

    शोका नेपाल निर्देशक लक्ष्मण पौडेलले भने सो विषयमा अनभिज्ञता प्रकट गरेको नाटक गरे । तर फिरोजले भने आफूले पाँच लाख रुपैया पाउनुपर्ने लेखेका छन् ।

     

    फेसबुकमा निर्देशक पौडेललाई लामो खुलापत्र नै लेखेर आफूले पाँच लाख परिश्रमिक पाउनुपर्ने विषय सम्झाएका छन् ।

     

    फिरोजले लेखेको खुलापत्र जस्ताको तस्तै :

     

    प्रिय लक्ष्मण दाइ,

    पढेको थिएँ, अन्याय गर्नेभन्दा सहनेलाई बढी पाप लाग्छ। त्यसैले आफूमाथि चरितार्थ गर्न चाहिनँ। हिलोमा ढुंगा हान्दा छिट्टा आफैलाई लाग्छ भन्ने उखान जहीँतहीँ लागू गरेर पनि नहुने रहेछ।

    कुरा सुरुबाटै गर्न मन लाग्यो। जब हामी ४ जनाको सहमतिमा सबै जना सेयरमा बसेर काम गर्ने मौखिक सहमति भएको कुरालाई पनि अस्विकार गर्नुहुन्छ भने त म यहाँ लेख्न नै छोडिदिन्छु। त्यसपश्चात् त्यो सम्झौता कहिल्यै लिगल पेपरमा परिणत भएन र अन्ततः मैले भ्वाइस अनि एएनसी छोड्ने निर्णय गरेँ। किनकि म एक्लो परेँ त्यो बखत। त्यसपछि मेरो तलब १५ लाख बराबरको निस्कियो जसमध्ये प्रल्हादजी मार्फत दुई किस्तामा ५–५ लाख प्राप्त गरेँ। अन्तिम किस्ता म यूएस उड्ने दिनमा थियो। मैले एएनसीका लागि लिएको ऋण एक लाख ४० हजार पनि बल्लबल्ल अन्तिम घडीमा प्राप्त गरेँ। बाँकीको ५ लाख समयसँग तपाईंले बिर्सिनुभो जस्तो लाग्यो ‘नेपाल लाइभ’मा तपाईंको जवाफ पढ्दा। यो खुल्ला पत्र तपाईंलाई त्यही बाँकी रकम याद दिलाउन लेखिराखेको छु।

    घरीघरी आफ्नै काम बढाइ–चढाइ लेख्न त मन थिएन तर कसैको पसिना बिर्सिने टिमलाई यो सम्झाउन जरुरी छ। खराब सिस्टमसँग लड्न हतियार सहने मात्र होइन, त्यसको विरुद्ध जाने हिम्मत गर्नु पनि हो नत्र उमालेको पानीमा राखेको भ्यागुताको कहानी हर कोहीको बन्न सक्छ।

    यतिका वर्ष तपाईंसँग काम गरे, एक हिसाबले गुरु नै मानेको थिएँ। मेरो साचो कर्म देख्ने मान्छेको रुपमा हेरेको थिएँ तर कुन पैसा ??? वाला प्रसंगले मैले मान्छे चिन्न पो धोखा खाएँ कि भन्ने भान भइराखेको छ। तलको ‘स्क्रिन सट’ हालेको छु ‘१७ सेप्टेम्बर, २०१८’ को जहाँ म तपाईंसँग सहायता माग्दैछु त्यो पैसा पाउनका लागि। र तपाईं मलाई आश्वासन दिँदै हुनुहुन्छ। के यति काफी छ हजुरलाई याद दिलाउनका निम्ति ?

    मैले गरेको काम, मेरो मेहनत बराबरको रकम त्यो हो–होइन, म जान्दिनँ तर तपाईंले सोध्दा हुन्छ कि मेरो काम कस्तो थियो भनेर। चाहे सिनियर प्रोड्युसर कुबेर डंगोलजी होस् या त सिनियर क्यामेरा पर्सन सुशील बानियाँ। जीवन रिजाल वा निराजन कार्की। प्रोडक्सन म्यानेजर रोशन कालिकोटे होस् या त कोच वर्गहरुमा। एक हिसाबले भनूँ भने सयौँको बोझ बोकेर हिँडेको थिएँ। तपाईंलाई विश्वास लाग्दैन भने यस्ता धेरै प्रमाण छन् जुन म पेस गर्न सक्छु। अब भन्नुस्, ‘मैले पैसा पाउने कि नपाउने ?’

    यो लडाइँ मेरो पारिश्रमिकको मात्र रहेन, देशमा राजनीति सरकारी निकायमा मात्र होइन, प्राइभेट संस्थामा पनि उत्तिकै छिरेको छ, जसले म जस्तो देशमै केही गर्न खोज्ने युवाहरुलाई वितृष्णा जगाइदिएको छ। देशमा केही हुन्न भन्ने। यो कहिलेसम्म ?

    प्रतिकृया दिनुहोस