• फिचर

    `वायुसेवा निगमलाई एक पैसा पनि दिन सकिँदैन´ – प्रधानमन्त्री

      ओमकार


    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताएका छन् ।

     

    प्रधानमन्त्री ओलीले ३७ अर्ब घाटामा रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वास नै नरहेको पनि स्पष्ट पारे ।

     

    निगमको ६१औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले तत्काल नेपाल वायुसेवा निगमको समग्र काम कारबाहीमा सुधार नभए सरकार त्यसको सञ्चालनका लागि रणनीतिक साझेदार खोज्न बाध्य हुने पनि स्पष्ट पारे ।

     

    ‘निगमको व्यवस्थापन र सञ्चालनमा तत्काल सुधार आउनुपर्यो, नभए त्यसको सञ्चालनका लागि सरकार रणनीतिक साझेदार खोज्न बाध्य हुनेछ,’ प्रधानमन्त्री ओलीको नेपाल वायु सेवा निगमलाई प्रश्न थियो, ‘निजी क्षेत्रले चलाउन सक्ने विमान किन निगमले चलाउन सक्दैन ?’

     

    प्रधानमन्त्री ओलीले वाइडबडी विमान चलाउन गन्तव्यको खोजी गर्न नसकेकोमा पनि आपत्ति जनाए । उनले सरकार निगमको साथमा रहेको तर निगमले विमान सञ्चालन गर्न नसकेकोमा आक्रोश व्यक्त गरे ।

     

    प्रधानमन्त्री ओलीले आफूले निगमको विमान उडान भर्न युरोपियन मुलुकसँग पनि कुरा गरेको बताए ।

     

    आकाशमा हुनुपर्ने विमानले एयरपोर्ट मात्रै ओगट्ने गरेकोमा प्रधानमन्त्री ओलीको असन्तुष्टि छ । उनले विमान सञ्चालनको स्पष्ट योजनाका साथ काम गर्न पनि निगम व्यवस्थापनलाई सचेत गराए ।

    प्रतिकृया दिनुहोस