• मुख्य

    गौरादह नगरपालिकामा परिवर्तनका लागि युवा अभियानले लगायो ताला , प्रहरीद्वारा हस्तक्षेप

      केदार खड्का


    दमक । गौरादह नगरपालिकामा आज तालाबन्दी लगाउने कुरामा मुडभेट भएको छ ।पछिल्लो पटक गौरादह नगरपालिका भित्र विभिन्न सामाजिक कार्यमा अगाडि रहेको युवाहरूको संस्था परिवर्तनका लागि युवा अभियानले उक्त तालाबन्दी गर्ने क्रममा प्रहरीसंग मुडभेट भएको हो ।

    पटक-पटक विवादमा आएको गौरादह नगरपालिकामा पछिल्लो पटक चामल गाडेको काण्डले उग्र रुप लिएको छ ।कोरोना कालमा गरीब जनताको राहतको लागि आएको खाद्यान्न कुहाएर गाडेपछि सोको सत्य तथ्य छानबिन गरि दोषी उपर कारबाहीको माग गर्दा पनि बेवास्ता गरेपछि तालाबन्दी गरिएको विज्ञप्ति मार्फत जनाइएको छ ।

    बिहान ११ बजे देखि नै तालाबन्दी गर्न नगरपालिका कार्यालयमा उपस्थित भएका अभियानका युवाहरुसंगै सामाजिक अभियान्ता ज्वाला संग्रौला ,अग्रज पत्रकार लिला अनमोल , स्थानीय पत्रकारहरु लगायत स्थानीय वासिको उपस्थिति थाहा पाएपछि ठूलो संख्यामा जनपद तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

    लामो समयको प्रतीक्षापछि एक नम्बर र दुई नम्बर वार्डका अध्यक्षहरु क्रमशः नगेन्द्र भण्डारी र हेमन्त कार्कीको उपस्थिति भएता पनि उहाँहरुले अभियानको माग पूरा गर्न नसकेको भन्दै अभियानका सदस्यहरुले तालाबन्दी गरेका थिए । तालाबन्दी गरेपछि प्रहरीसंग केहीबेर मुडमेट भएको थियो भने ताला लगाउने बित्तिकै प्रहरीले ताला नियन्त्रणमा लिएको थियो ।

    `उक्त चामल काण्डको सत्य तथ्य सार्वजनिक गर्न नगरिक स्तरबाट एक छानबिन समिति बनाई के कति परिमाणमा खाद्यान्न नष्ट गरिएको हो सो बराबरको रकम दोषीबाट भराउन जोडदार माग गर्दछ ।माग पूरा नहुन्जेलसम्मकालागि गौरादह नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको जानकारी गराउदै यस कार्यको लागि साथ दिन अभियान राजनीतिक दल , पत्रकार , नागरिक समाज , सरोकारवाला संस्था तथा तमाम नगरवासीसंग हार्दिक आग्रह गर्दछ ।´ विज्ञप्तिमा भनिएको छ ।

    अभियानका सचिव अशोक कार्कीद्वारा हस्ताक्षरित विज्ञप्ति नगरपालिकाको कार्यालयमा टाँस गरिएको छ।

    प्रतिकृया दिनुहोस