• मुख्य

    बालबालिकाको चौतर्फी विकाशमा बाधक बन्दै अनलाईन कक्षा

      दिव्या दाहाल


    हाल विश्वभरि फैलिएको कोभिड १९ अन्तर्गतको मापदण्डलाई पालना गर्दै तथा स्वास्थ्य सुरक्षाको सुनिश्चितता क़ायम राख्दै देशका सम्पूर्ण शैक्षिक संस्थाहरु ठप्प भएका छन्।कोरोना को दोस्रो लहर आएपश्चात सरकारले दिएको निर्देशन अनुरुप विद्यालय बन्द गर्न बाध्य भएका संचालकहरुले यस वर्षको वार्षिक / अन्तिम परिक्षा गराउन पाउने अवस्था रहेन।सो कारण अधिकांश विद्यालयहरुले आन्तरिक मुल्यांकनका आधारमै नतिजा प्रकाशन गरि निरन्तर रुपमा कक्षा संचालन गर्न थालिसकेका छन्।

    सम्पूर्ण रुपमा डिजिटलाइज्ड कक्षा कस्तो होला भन्ने अनुभव त विद्यार्थीहरुले पहिलो चरणको लकडाउन मा पनि थाहा पाइसके। हरेक दिन विद्यालयमा गइ अध्ययन गरे भन्दा निक्कै फरक परिवेशमा सन्चालन गरिने भर्चुवल क्लासमा सिकाइको परिवेश पनि भिन्न् हुने गर्छ। के भर्चुव वल क्लासमा विद्यार्थीहरुले विद्यालय भित्रै बसेर नियमित रुपमा पढ़े जस्तो अनुभव गर्न पाएका छन् त ??

    विज्ञहरुले भर्चुवल कक्षामा ‘लर्निंग इन्भारन्मेन्ट’ कम हुने बताएका छन्। विद्यार्थीहरुले मोबाइल फ़ोन वा ल्यापटपको स्क्रिनमा पढिरहँदा शिक्षक तथा साथीभाईहरुसँग सिधा सम्पर्क नहुने र ‘इन्टर्याक्सन’ को कमी हुने भएकाले पढाईमा मन नलाग्न सक्ने सम्भावना देखिएको छ। कक्षाहरु पूर्ण रुपमा इन्टरनेटप्रति निर्भर हुने भएकाले अधिकांश विद्यार्थीहरुले नेट्वर्क समस्याका कारण पुरा कक्षा लिन पाइरहेका हुँदैनन्।यस्तो अवस्थामा पढ़ाई भइरहेको कुरा बुझ्न कठिन हुने विद्यार्थीहरुको गुनासो रहने गर्छ।कतिपय अवस्थामा शिक्षकहरुलाई पनि नयाँ किसिमको ‘टेक्नोलोजीकल’ प्रयोगहरु गरी कक्षा संचालनका लागी निर्माण गरिएका विभिन्न माध्यमहरु अन्तर्गत रहेर पढाउन मुस्किल हुने पनि देखिएको छ।

    वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै वैकल्पिक हिसाबमा संचालन भइरहेका यस्ता कक्षाहरुमा नियमित उपस्थित हुन र शिक्षकहरुले बुझाएका विभिन्न विषयहरुमाथि प्रकाश पार्न ठूला विद्यार्थीहरुलाई केही सहज भए पनि स-साना विद्यार्थी भाईबहिनिहरुलाई भने दिनको करिब ४-५ घन्टा निरन्तर कक्षा लिन असाध्यै कठिन हुने अभिभावकहरु पनि बताउँदै आएका छन्। ३-१० वर्ष उमेर समुहका बालबालिकाहरुलाई यति लामो समयसम्म स्क्रिन अगाडि बसेर कक्षा लिन निकै कठिन भएको देखिन्छ। यो उमेर समुहका बालबच्चालाई धेरैमा डेढ़ घन्टा मात्र ‘स्क्रिन टाईम’
    उपयुक्त रहने विशेषज्ञहरुले बताउँदै आए पनि विद्यालयहरुले दैनिक ४-५ घन्टा सम्म निरन्तर कक्षा सन्चालन गर्दै आइरहेका छन।

    यसरी लामो समय सम्म स्क्रिन सँगको सम्पर्कमा रहँदै गर्दा बच्चाहरुमा स्वास्थ्य समस्या सँगै मनोवैज्ञानिक समस्याहरु पनि देखिने सम्भावना रहेको बताईएको छ। महामारीका कारण घरभित्रै रहन बाध्य भएका उनीहरुलाई विभिन्न किसिमका क्रियाकलापहरुमा संलग्न गराउनुपर्नेमा बच्चाहरुको अधिक समय कक्षा र गृहकार्यमै बित्ने गर्छ । यस्तो अवस्थामा उनीहरुको चौतर्फी विकास गराउन पनि समस्या हुने देखिएको छ।लामो समयसम्म एउटै स्थानमा बसेर निरन्तर स्क्रिनको सम्पर्कमा रहँदा बच्चाहरुलाई रिस उठ्ने, पट्यार लाग्ने, झर्को लाग्ने र पढाईमा ध्यान नजाने जस्ता चुनौतिहरुको सामना अभिभावकहरुले गर्दै आएका छन्। कक्षा लिईरहँदा पनि मोबाईल र ल्यापटपका साथ बस्न बाध्य भएका बच्चाहरुले मनोरन्जनका लागी पनि टिभि र यस्तै अन्य ‘डिजिटल डिभाइस’ नै रोज्ने हुँदा उनीहरुको स्वास्थलाई लिएर अभिभावकहरु चिन्तित हुनु जायज़ छ।

    परिवारका सबै सदस्यहरु अहिले घरमै हुने भएकाले यो समय बालबालिकाहरुका लागी आँफ्ना अभिभावकहरुबाट धेरै भन्दा धेरै कुराहरु सिक्ने र सँगै समय बिताउने सुनौलो मौका हो।यस्तो बेलामा उनीहरुलाई दैनिक ४-५ घन्टा जबरजस्ती एकै ठाउँमा बसी पाठ रटाउनु भन्दा अनलाईन कक्षाको समय परिमार्जन गरि घरमै जिवन उपयोगी शिक्षा र व्यवहारिक ज्ञान प्रति उन्मुख पो गराउने हो की ?

    प्रतिकृया दिनुहोस