• राजनीति

    कांग्रेसले सार्वजनिक गर्यो क्रियाशील सदस्यता विवरण

      ओमकार टाइम्स


    काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइट www.nepalicongress.org मार्फत सार्वजनिक गरेको छ ।

    समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वजनिक गरिएको समिति सचिव केशव रिजालले जानकारी दिए । कांग्रेसले यसअघि १०१ स्थानका क्रियाशील सदस्यता विवरण सार्वजनिक गरी सकेको छ ।

    आज सार्वजनिक गरिएका र यसअघि सार्वजनिक गरिएका नामावलीउपर कुनै उजूरी, गुनासा वा सुझाव भएमा समितिमा उजूरी तथा गुनासो पठाउन सकिने व्यवस्था गरिएको उनले बताए । आगामी असार ६ गतेपछि प्राप्त भएका उजूरीउपर कुनै सुनुवाइ नहुने पार्टी कार्यालयले जनाएको छ ।

     

    सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटि भएको भए वा छुट भएको भए नयाँ सदस्यतातर्फ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले र नवीकरण तर्फका जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाणसहित त्रुटि सच्याउन वा नाम समावेश गराउन असार ६ गतेभित्र नै लेखी पठाउनुपर्ने व्यवस्था गरिएको छ । सार्वजनिक गरिएका सबै जिल्ला र क्षेत्रले आफूअन्तर्गतका वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपि तथा आवश्यक विवरण एक हप्ताभित्र अनिवार्यरुपमा केन्द्रीय कार्यालयमा पठाउन कांग्रेसले निर्देशन दिएको छ ।

    प्रतिकृया दिनुहोस