• कला/ साहित्य

    सलाई बेच्ने ती सानी केटी (The Little Match Girl )

      हैन्स एन्डर्सन

    डिसेम्बर महिनाको कठ्यांग्रीदो जाडो।शहरका घर र गल्लीहरु हिउँको सेतो ब्लैंकेट ओढेर मस्त निदाएका छन्।अँध्यारो रात।चारैतिर सुनसान छ।भोलि त क्रिसमस पनि हो।सायद सबै मानिसहरु भोलिको तयारीमा लागेका होलान;आ-आँफ्नै घरमा।हर एक घरमा मिठा मिठा परिकारहरु बनाइएको छ।मिष्ठान्नहरुको सुगन्ध हावासँग मिसिएर ति सानी केटीको नाकमा आएर ठोकिन्छ।उनी यी विरान सडकहरुमा एक्लै हिँडिरहेकी छिन्।उनका नांगा पैतालाहरुले हिउँका चिसा कणहरुको स्पर्श गरिरहेका छन्।जिउमा न्यानो कपड़ा छैन।एउटा हातमा उनले सानो बास्केट लिएकी छिन् जसभित्र सलाईका केही बट्टाहरु छन्।उनी आत्तिएकी छिन्।”अोहो! आज पनि मैले सलाइको एउटा पनि बट्टा बेच्न सकेकी छैन।ख़ाली हात लिएर अब घर कसरी पुग्ने होला !” उनले राम्रोसँग बुझेकी छिन्।बिना पैसा घर गएमा उनका बुबाले उनलाई नराम्रोसँग चुट्नेछन्।

    रात जति छिप्पिँदै गइरहेको छ, जाडो उत्तिकै बढ़दै छ।उनका खुट्टा बिस्तरै निला हुँदैछन्।हातहरु चिसिएर चल्नै नसक्ने जस्ता भएका छन्।कोहि मानिसहरु देखा पर्छन् की भन्ने आसमा उनी सडकका गल्लीहरुमा पटक पटक ओहोर दोहोर गरिरहेकी छिन्।उनको कालो कपाल हिउँले पुरिएर सेताम्मे भएको छ ; कुनै बुढी आइमाइको फुलेका केसराशिहरु जस्तै।जाडो अत्याधिक रुपमा बढिरहेको छ।उनलाई वातावरण असह्य भएजस्तो महसुस हुन थाल्छ।उनी चिसोले काँप्न थाल्छिन।गर्हौँ पाइला चाल्दै उनि एउटा घरको भित्तामा आड़ लिएर बस्छिन्।

    सहन गार्हो भएपछि उनले बास्केटबाट सलाईको बट्टा निकाल्छिन र एउटा काँटी कोर्छिन्।सलाईको काँटीको उज्यालोमा उनले सुनौलो कुरा देख्छिन् ; कुनै एउटा कोठाको ठूलो र आरामदायी सोफामा उनी बसेकी छिन्।उनको छेवैमा रहेको स्टोभमा आगो बालिएको छ। आगोको रापबाट आएको न्यानोपनले उनलाई निकै आराम दिएको छ।उनले आँफ्ना चिसा खुट्टा सेक्नका निम्ति केही अघि सार्छिन र यत्तिकैमा सलाईको काँटी निभ्छ ,

    झ्याप्प !!
    उनले फेरि अर्को काँटी कोर्छिन।
    एउटा विशाल डाइनिंग टेबलमाथि मखमली चादर बिछ्याइएको छ।पोरिसिलिनका भाँडाहरुमा थरीथरीका परिकारहरु सजाइएका छन्।मिष्ठान्नको भण्डार लगाइएको छ।”कति सुनौलो दृष्य”,यति भन्दै ती सानी केटीले मिष्ठान्नतर्फ आँफ्नो हात लम्काउँछिन्।…झ्याप्प…!!! सलाईको त्यो काँटी पनि निभेर जान्छ र उनी त्यही घरको भित्तामा अडिएर बसिरहेकी हुन्छिन्।वेजोडले चिसो वतास चलेको छ ।उनी काँपिरहेकी छिन्।केही राहत महसुस हुन्छ भन्ने आसका साथ उनले फेरी अर्को काँटी कोर्छिन्।

    निकै अग्लो र झिलिमिलि क्रिसमस ट्रि को फेदमा उनी रमाइरहेकी छिन्।क्रिसमस ट्रि का हाँगाहरुमा सजाइएका बत्ती र ताराहरु हेर्दै उनि औधि खुसी भइरहेकी छिन्।एउटा चम्किलो तारातर्फ उनले आँफ्नो हात अघि सार्छिन्।त्यतिबेलै सलाईको काँटी निभ्छ। झ्याप्प..। क्रिसमस ट्रि मा झुन्ड्याइएका उज्याला र चम्किला ताराहरु एकाएक उड्न थाल्छन।ती ताराहरु त आकाशभन्दा पनि अझ माथि पुग्छन ।”सायद ताराहरु स्वर्गलोकमा पुगे होलान,”उनले मनमनै सोच्छिन्।माथि हेर्दा त एउटा पुच्छ्रे तारा पृथ्वीतर्फ खसिरहेको उनले देख्छिन्। सायद कसैको मृत्यु भएको हुनुपर्छ।उनलाई आफ्नी स्वर्गीय हजुरआमाले भनेको कुरा सम्झना आउँछ।”पृथ्वीमा कसैले अन्तिम सास फेरेपछि भग्वानले उसलाई लिन पुच्छ्रे तारा पठाउनुहुन्छ।”

    उनले अर्को एउटा सलाई कोर्छिन्।सलाईको काँटीको धिमधिम उज्यालोमा उनले आँफ्नी हजुरआमालाई देख्छिन्।उनी असाध्यै चकित हुन्छिन्।तर उनको मन आत्तिन्छ।सलाईको काँटी निभ्नासाथ अगिका घटनाहरुमाझैँ हजुरआमा पनि विलिन हुने भयले उनी औधि डराउँछिन्।आत्तिँदै उनले आँफु अडिएर बसेको घरको भित्तामा बाँकी रहेका सबै काँटीहरु एकैसाथ कोर्छिन्।काँटीहरु बल्नासाथ त्यस ठाउँमा अत्यन्तै सुनौलो ज्योति छरिन्छ।घामको उज्यालो भन्दा पनि अझ चम्किलो र दिव्य।उज्यालोमा ती सानी केटी हजुरआमाको नजिकै पुग्छिन ।हजुरआमाले उनलाई आँफ्नो हातमा समाउन लाउँछिन र आँफैसँग लिएर जान्छिन,जहाँ जाडो छैन,भोक छैन ,सोक छैन।मात्र ताराहरुको सुनौलो र दिव्य ज्योति छ।

    एउटा कुनामा ती सानी केटी निदाइरहेकी छिन ; राता गालाहरुबिच मन्द मुस्कुराहटका साथ।उनको छेउमा जलाइएका सलाईका काँटीका ठुटाहरु छरिएका छन्।रातभरि परेको हिउँले उनको शरिर बरफजस्तै चिसिएको छ। सायद कसैले अनुमान पनि लगाउन सक्दैन ; उनले त्यस सुनसान र अँध्यारो रातमा कति धेरै सुन्दर कुराहरु देखिन्।नयाँ वर्षको उल्लासमय र सुखी दुनियामा उनी आँफ्नी हजुरआमासँग प्रस्थान गरिसकेकी छिन्।यो कथालाई नेपालीमा अनुवाद दिव्या दाहालले गरेकी हुन् ।

    प्रतिकृया दिनुहोस