• विदेश

    बेलायतकी महारानी एलिजाबेथसँग अस्ट्रेलियाली प्रधानमन्त्रीको भेट

      ओमकार टाइम्स


    लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयले अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनसँग विन्डसर क्यासलमा प्रत्यक्ष भेटवार्ता गरेकी छन् । अस्ट्रेलियाली प्रधानमन्त्री विश्वका सम्पन्न सात मुलुक (जी–७) को बैठकमा पर्यवेक्षकका रुपमा सहभागी हुन बेलायत आइपुगेका थिए । बेलायतको राजसंस्था अस्ट्रेलियाको पनि राजसंस्था रहेको छ ।

    बेलायती कमनवेल्थ समूहका ५४ देशमध्ये अस्ट्रेलिया पनि एक हो । यो साता ९५ वर्षीया बेलायती महारानी निकै व्यस्त थिइन् । उनी गत शुक्रबार बेलायतको दक्षिण पश्चिमस्थित कोर्नवालसम्म ट्रेनमा गएकी थिइन् । कोर्नवालमा सम्पन्न सात (जी–७) का नेताहरुको शिखर बैठकमा सहभागी विश्वका नेताहरुका लागि आयोजित रात्रिभोजमा उनी सरिक भएकी थिइन् ।

    लगत्तै उनी गत शनिबार आफ्नो ९५औँ जन्मोत्सवका अवसरमा विन्डसरमा आयोजित सैनिक परेडमा सहभागी भएकी थिइन् । अर्को दिन उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी धर्मपत्नी जील बाइडेनलाई राजप्रासादमा स्वागत गरेकी थिइन् ।

    कोरोना भाइरस महामारीका कारण गत वर्ष महारानी एलिजाबेथले अनलाइन र भर्चुअल माध्यमबाट मात्र अतिथिहरुसँग भेटवार्ता गरेकी थिइन् । तर यसपटक खुला रुपमा उनले अतिथिहरुसँग भेटघाट गरेकी हुन् । अस्ट्रेलियाली प्रधानमन्त्री मोरिसनले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग पनि लन्डनमा भेटवार्ता गरेकी थिइन् । उनिहरुबीच एक अर्का मुलुकका कैयौँ वस्तु एवं सेवामा लाग्दै आएका करहरु हटाएर स्वतन्त्र व्यापार सम्झौता गर्ने बारेमा एउटा खाकामा सहमति भएको थियो ।

    प्रतिकृया दिनुहोस