• राजनीति

    फुटको संघारमा नेकपा, प्रचण्ड र माधव नेपाल दुवैको प्रधानमन्त्रि बन्ने चाहाना | ओमकार टाईम्स

      ओमकार

    काठमान्डू  | तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी(केन्द्र)बीच एकता भएको १३ महिना बित्दै छ । ३ महिनामा सकिने भनिएको एकता १३ महिनामा पनि उस्तै छ ।

    नेकपाको एकताले पूर्णता नपाउँदै विभाजनको खतरा देखिएको छ । नेकपाका नेताहरु अहिले जति बाहिरी काममा सक्रिय छन्, त्यसभन्दा बढी आन्तरिक गुटको तयारीमा जुटेका छन् ।

    तत्कालीन एमाले र माओवादी पार्टी एकताको तयारी अथवा १७ असोज २०७४ मा जसरी राजधानीमा मोर्चा बनाएर सबैलाई चकित पारेका थिए । त्यो स्पिडमा पार्टी अब अगाडि नजान सक्ने अवस्थामा नरहेकोे नेकपाका एक स्थायी समिति सदस्यले बताए । ती सदस्य भन्छन्, ‘पार्टीमा फाटो आउँदै छ । जुन नेपाली कम्युनिस्ट आन्दोलनका लागि र नेपाली जनताका लागि धेरै ठूलो क्षति हुने छ ।’

    विवादको सुरुवात नेतृत्वबाट

    एकता घोषणा सभामा दुई अध्यक्षलाई पाइलटको संज्ञा दिएका केपी शर्मा ओलीले एक्लै जहाज उडाउन थालेपछि नेकपामा विवाद चरममा पुगेको अर्का नेकपाका स्थायी समिति सदस्यले बताए ।

    ‘एकता गर्दा जुन सहमति र सम्झौता गरेका थिए । दुवै अध्यक्षले ती सहमति र सम्झौता कार्यान्वयन नगर्दा पार्टीमा विग्रहको समस्या आउँदै छ । जुन कुरा दुवै अध्यक्षले थाहा पाइसक्नुभएको छ,’ ती नेता भन्छन् ।

    एकतामा ढिलाइ

    नेकपाले एकता गर्दा तीन महिनामा सबै एकताका काम सक्ने भनेर घोषणा गरेको थियो । तर, १३ महिना बिते एकता पूरा भएको छैन । प्रदेश कमिटीबाट नै अध्यक्ष केपी ओलीले बलमिच्याइ गरेको ठम्याई अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को छ । प्रदेश कमिटीको एकतामा उनी त्यति बोलेनन्, जति वरिष्ठ नेता माधवकुमार नेपाल ओलीको विरोधमा बोले ।

    प्रदेश कमिटीको एकतामा मापदण्ड बनाएर जाने भने पनि ओलीले त्यसलाई लत्याएको भन्दै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधन नेपाल असन्तुष्ट छन् । नेपालले सार्वजनिक रुपमै विरोध गरे पनि प्रचण्ड भने त्यस बेला बोलेनन् ।

    उनीहरुको असन्तुष्टि सचिवालयमा भएको छलफलअनुसार मापदण्ड बनाउने र एक व्यक्ति एक पद दिने सहमति अर्का अध्यक्ष ओलीले एकलौटी तोडेको भन्नेमा रहेको प्रचण्ड निकट नेताहरुको दाबी छ ।

    जिल्ला कमिटीको एकतामा ढिलाइको कारण ओली

    नेकपाले प्रदेश कमिटीका अध्यक्ष र सचिव, इन्चार्ज र सहइन्चार्जको घोषणा गत वर्ष ५ असोजमा गरेको थियो । पार्टी एकता भएको चार महिना पछि प्रदेशको नेतृत्व तोकेको थियो ।

    प्रदेश कमिटीको नेतृत्व छानेको ७ महिना पछि जिल्ला कमिटीको घोषणा भयो । तर, यसमा पार्टीमा भागबन्डा नमिलेर भन्दा पनि ओलीले छुट्टै रिपोर्ट तयार गर्न राष्ट्रिय अनुसन्धानलाई खटाउँदा ढिला भएको नेताहरु बताउँछन् ।

    ओलीले अनुसन्धानलाई जिल्लाका नेकपाका कार्यकर्ताको लिस्ट बनाउन लगाउँदा जिल्ला कमिटीको एकतामा ढिला भएको नेकपाको उच्च स्रोतको दाबाी छ ।

    आ–आफ्नै तयारीमा ओली–प्रचण्ड

    नेकपाका दुवै अध्यक्ष अहिले आन्तरिक रुपमा आ आफ्नो तयारीमा लागेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा गएका प्रधानमन्त्री केपी ओली नफर्कंदै अर्का अध्यक्ष प्रचण्डले आलोपालोको कुरा टिभीमार्फत बोले ।

    भारत भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा नै गए हुन्छ कसैले रोक्दैन भनेपछि प्रचण्ड नयाँ बाटोको खोजीमा लागेको उनी निकट एक नेताले बताए । ती नेताले भने, ‘अब यसरी नै त कति दिन बस्न सकिन्छ र भन्ने अवस्थामा अध्यक्ष प्रचण्ड हुनुहुन्छ । के हुन्छ, हेदै जाऊँ ।’

    प्रचण्डलाई प्रधानमन्त्री नदिने मुडमा ओली

    नेकपाका दुई अध्यक्षले दुई जना साक्षी राखेर एकता हुँदा गरेको पाँच बुँदे सम्झौता अहिले धरापमा परेको छ । ओली आफू र अर्का अध्यक्ष प्रचण्डबीच भएको ५ बुँदे सम्झौता कार्यान्वयन नगर्ने तयारीमा लागेको प्रचण्ड निकट नेताको बुझाइ छ ।

    नेपालको परीक्षण

    नेकपाका अध्यक्ष प्रचण्ड अहिले माधवकुमार नेपालको परीक्षणको समय आएको बताउन थालेका छन् । प्रचण्डले नेकपाका युवा नेताहरुसँग अब नेपालजीको परीक्षणको समय आएको बताउन थालेका छन् । नेपाल हामीतर्फ आउँछन् अथवा ओलीतर्फ जान्छन्, छिनोफानो हुने समय आएको बताउन थालेका छन् ।

    नेपाल र ओलीको इतिहास हेर्ने हो भने नवौं महाधिवेशनभन्दा अरु समयमा उनीहरू फरक फरक समूहमा देखिएका छैनन् । त्यसकारण, अझै पनि नेपाल ओलीलाई छोड्न नसक्ने अवस्थामा रहेकाे तत्कालीन एमालेका युवा नेताहरुले प्रचण्डलाई सुनाउन थालेको एक केन्द्रीय सदस्यले बताए । नेपाल पनि अहिलेसम्म खुलेर ओली प्रचण्ड कसैसँग नजिकिएका छैनन् । आन्तरिक रुपमा भने प्रचण्डसँग बढी छलफल गर्ने गरेको उनी निकट नेताले बताए ।

    नेतृत्व लिँदै सुरेन्द्र पाण्डे

    माधवकुमार नेपाल खुलेर प्रचण्ड समूहसँग नआए त्यो समूहको नेतृत्व गर्न अहिले आन्तरिक रुपमा सुरेन्द्र पाण्डे लागेको बुझिएको छ । पाण्डे अहिले प्रचण्डसँग खुलेर लाग्ने र आगामी महाधिवेशनदेखि पार्टी विभाजन हुने अवस्था आए पनि सँगै जाने गरी संगठनको नेतृत्वको तयारी गरिरहेका प्रचण्ड निकट एक नेताले बताए ।

    प्रचण्ड नेपाल दुवै प्रधानमन्त्री बन्ने चाहनामा

    प्रचण्ड र नेपाल दुवै नेताहरु प्रधानमन्त्री बन्ने चाहनामा भएका कारण मिल्न सक्ने सम्भावना कम रहेको बताइन्छ । नेपाल पनि प्रचण्डसँग मिल्दा आफू प्रधानमन्त्रीमा सुनिश्चितता चाहन्छन् । तर, प्रचण्ड नेपाललाई तत्कालै प्रधानमन्त्री दिने मुडमा छैनन् । उनी पहिला आफू प्रधानमन्त्री हुन चाहन्छन् । नेपाल पनि आफूले प्रचण्डलाई सहयोग गरेपछि प्रधानमन्त्री हुन चाहन्छन् । दुवै नेताको चाहना बाझिएपछि उनीहरू एकआपसमा निकट हुन सकेका छैनन् ।

    तीन जना नेताको व्यवस्थापनमा प्रचण्ड

    प्रचण्ड आन्तरिक रुपमा तीनजना नेताको व्यवस्थापन कसरी गर्ने भनेर तयारीमा लागेको बुझिएको छ । आफू, माधवकुमार नेपाल र वामदेव गौतम । प्रचण्ड आफू प्रधानमन्त्री हुन चाहन्छन् । आफू पछिको दोस्रो तहमा नेपाललाई राख्न चाहन्छन् । वामदेव गौतमलाई कार्यवाहक अध्यक्ष दिने सोचसहितको खाका आन्तरिक रुपमा बनाउँदै गरेको बुझिएको छ । शिलापत्रबाट

    प्रतिकृया दिनुहोस