• समाचार

    चट्याङ लागेर बुबाको मृत्यु, छोरी र नातिनी घाइते

      ओमकार टाइम्स

    खोटाङ । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको छ ।

    आफ्नै घरमा चिया पिइरहेका समयमा बुधबार परेको चट्याङले उनको घटनास्थलमै मृत्यु भएको हो ।  चट्याङले राईकी छोरी ४५ वर्षीया तारा र नातिनी १४ वर्षीया रचना बेहोस भएको स्थानीय बासिन्दा नारायण राईले जानकारी दिए । घाइते दुवैको सामान्यावस्था रहेको जनाइएको छ ।

    घटनास्थलमा इलाका प्रहरी कार्यालय खोटाङबजार र अस्थायी प्रहरी चौकी छितापोखरीबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए ।

    शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी गरिएको जनाइएको छ ।  दश स्थानीय तह रहेको जिल्लामा चट्याङबाट जोगिन विभिन्न ठाउँमा अर्थिङ जडान गरिएको छ । चट्याङको उच्च जोखिममा रहेको खोटाङमा हरेक वर्ष  जनधनको क्षति भएपछि नियन्त्रण गर्न स्थानीय तहले विभिन्न ठाउँमा अर्थिङ जडान गरेका हुन् ।

    प्रतिकृया दिनुहोस