• राजनीति

    एमाले बागमती प्रदेशले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

      ओमकार टाइम्स

    सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत, पुनःस्थापना तथा भौतिक संरचनाको पुनःनिर्माणको माग गर्दै नेकपा(एमाले) बागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

     

    शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेकपा (एमाले)बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलसहितको टोलीले सिन्धुपाल्चोक बाढीमा परी मृतक भएकाका परिवारलाई क्षतिपूर्ति र राहत तथा विस्थापित ४०० परिवारलाई राहत र पुनःस्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

    प्रधानमन्त्री ओलीसँग नदीहरूको नियन्त्रण, खानेपानी, विद्युत, सडक, पुल लगायतका बिग्रिएका संरचनाहरूको तत्काल पुनःनिर्माण गर्न पनि एमाले बागमती प्रदेश कमिटीले ध्यानाकर्षण गराएको छ ।

     

    ज्ञापनपत्रमा मृतकको परिवारलाई क्षतिपूर्ति दिदैँ घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्नुपर्ने, दीर्घकालीन एकीकृत पुनःनिर्माणको लागि कार्य प्रारम्भ गरिनुपर्ने, ४०० परिवारलाई अस्थाइ बसोबासका लागि प्रति प्रतिपरिवार ८ बन्डल जस्तापाता तुरुन्त व्यवस्था गर्नुपर्ने, नदी किनारामा तटबन्ध निर्माण गर्नुपर्ने, बिग्रेका मोटरबाटो मर्मत गरी सञ्चालन गर्न योग्य बनाउनुपर्ने,अस्थाई झोलुङ्गे पुल बनाउनुपर्ने लगायतका माग गरिएको छ ।

     

    नेकपा(एमाले) बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बाढी पीडितको पुनःस्थापनाका लागि र खोलामा तटबन्ध गर्नेदेखि क्षतिग्रस्त घरहरुलाई मर्मत गर्नका लागि प्रधानमन्त्रीबाट सकारात्मक आश्वास आएको र आफुहरु कार्यान्वयनको आशामा रहने बताए ।

    असार १ गते सिन्धुपाल्चोकको मेलम्ची, याङ्ग्री र लार्के खोलामा आएको बाढीमा परि सो क्षेत्रका १६ जनाको निधन भएको छ भने करिब ४०० परिवार विस्थापित भएका छन् । बाढीबाट विकासका सम्पूर्ण पूर्वाधारहरुमा समेत क्षति भएको छ ।

    प्रतिकृया दिनुहोस