• राजनीति

    १४औँ महाधिवेशन नजिकिएपछि कांग्रेसभित्र सभापतिको लागि दौडधुप सुरु

      ओमकार टाइम्स


    काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा भावी सभापतिको लागि दौडधुप सुरु भएको छ । सोही क्रममा शुक्रबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यले आसन्न महाधिवेशनको तयारी र नेतृत्वको तयारी सम्बन्धमा छलफल गरेका ।

    भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला तथा नेता प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, सुजाता कोइरालालगायत करीब २५ पदाधिकारी तथा केन्द्रीय सदस्य सहभागी थिए । संस्थापन इतर समूहका लगभग उनिहरु सबैले आफूलाई सभापतिको उम्मेदवारीमा दाबी गर्दै आएका छन् । यद्यपि सहमतिका आाधारमा एक मात्र उम्मेदवार बनाउन सकिए कतिपय नेताहरुले पछि हट्न सकिने बताएका थिए ।

    भेलामा  अधिकांश केन्द्रीय सदस्यले सो समूहबाट सभापतिमा सहमतिका आधारमा एक मात्र उम्मेदवार हुनुपर्नेमा जोड दिएको केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए । पार्टीको क्रियाशील सदस्यता छानबिन समितिले गरिरहेको कामका बारेमा भेलामा समीक्षा हुनाका साथै भावी नेतृत्वमा सहमतिको प्रयासलाई जारी राख्नुपर्नेमा जोड दिइएको थियो ।

    कांग्रेसको यही असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिले बैठकले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने संशोधित कार्यतालिका पारित गरेको छ । सो निर्णयपछि सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः उम्मेदवारी दिने तयारीका साथ आफू निकट पदाधिकारी र केन्द्रीय सदस्यसँग चरणबद्ध रुपमा छलफल थालेका छन् । पछिल्लो पटक सभापति देउवा निकट मानिएका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

    संशोधित कार्यतालिकानुसार गाउँ–नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ–नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते तथा प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ । त्यस्तै क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि असार २० गतेभित्र र क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेभित्र तोकिएको छ ।

    प्रतिकृया दिनुहोस