• राजनीति

    ओलीको कदमप्रति आधिकारिक धारणा बनाउन माधव पक्षको बैठक बस्दै

      ओमकार टाइम्स

    काठमाडौँ : नेकपा एमालेको माधव नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै छ । संस्थापन पक्ष पार्टी एकताका लागि २०७५ जेठ २ अघिको अवस्थामा नफर्किएपछि आगामी रणनीति तय गर्न नेपाल समूह छलफलमा जुट्न लागेको हो ।

    प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षले गठन गरेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्च अदालतले नचिनेपछि यो कमिटीलाई भंग गर्दै केन्द्रीय कमिटी बनाइएको छ । तर जेठ २ मै फर्किने ओली समूहका नेताहरुले बताएको भएपनि बुधबार बसेको बैठकले त्यसमा माओवादी छाडेर एमालेमा लागेका २० जनालाई पनि केन्द्रीय कमिटीमा राखेपछि नेपाल समूह असन्तुष्ट छ ।

    बुधबारको बैठकले गरेका यी निर्णय बाट ओली अझै पार्टी एकताको पक्षमा नरहेको प्रष्ट पारेको नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले बताइन् । यस्तै घनश्याम भुसालले पनि ओलीले पार्टीलाई जेठ २ अघिको अवस्थमा नफर्काएर एकता नचाहेको बताएका छन् ।

    यद्यपि, नेपाल समूहभित्र दोस्रो तहका केही नेता भने लचिलो भएर पार्टीलाई एक बनाउनुपर्ने भन्दै संस्थापन पक्षका नेताहरुसँग छलफलमा छन् । बुधबारदेखिनै संस्थापन पक्षबाट उपमहासचिव विष्णु पौडेल र नेताहरु सुवास नेम्वाङ तथा शंकर पोखरेल वार्तामा छन् । वार्तामा नेपाल पक्षका नेताहरु भीम आचार्य, गोकर्ण विष्ट र नेता सुरेन्द्र पाण्डे सहभागी छन् ।

    नेपाल पक्षले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा भाग लिने कि नलिने भन्ने बारेमा आफ्नो समूहको निर्णय गर्न आजै स्थायी कमिटीका सदस्यहरुको बैठक राखेको छ । दिउँसो बस्ने बैठकले यसबारेमा सामूहिक धारणा बनाउने नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

    प्रतिकृया दिनुहोस