• सम–सामयिक

    मोरङको लोहन्द्रा नदीमा पुल निर्माण

      ओमकार टाइम्स

    विराटनगर : मोरङको ग्रामथान गाउँपालिका–४ स्थित मोतिपुरमा लोहन्द्रा नदीमा नयाँ पुल निर्माण भएपछि त्यस क्षेत्रका जनता खुशी भएका छन् । चार वर्षअघि आएको बाढीले मोरङ बेलबारी नगरपालिका–५ र ग्रामथान जोड्ने लोहन्द्रा नदीको पुल बगाएको थियो । त्यसका कारण स्थानीय जनतालाई निकै अप्ठ्यारो भएको थियो ।

    बगाएको पुल अझै निर्माण भएको छैन । विकल्पमा ग्राम थानमा रु आठ करोडको लागतमा धरानको सूर्या एन्ड सन्स प्रालि नामक निर्माण कम्पनीले २०७५ साल वैशाख १३ गतेदेखि काम शुरु गरेको थियो । झण्डै ९७ मिटर लामो पुलका लागि सरकारले भ्याटबाहेक रु आठ करोड ३५ लाख ४५ हजार लगानी गरेको छ । कसेनीमा बाढीले बगाएको पुलभन्दा झण्डै सात किमी दक्षिणमा लोहन्द्रामै उक्त पुल निर्माण भएपछि आवतजावतमा धेरै सहजता भएको ग्रामथान–४ का स्थानीय खिलेश्वर सुवेदीले बताए ।

    विगतमा यही क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिले पुल बनाउन चासो नदेखाएपछि सङ्घीय सांसद अमनलाल मोदीले चासो लिएपछि पुल बनेको स्थानीयवासी सुवेदीको भनाइ छ । यो पुलले दुहबी–तेतरिया–मोतिपुर–चन्द्रगढी जोड्ने रणनीतिक सडक पनि जोड्ने मद्दत गरेको छ । सङ्घीय सरकार सडक विभागद्वारा पुल निर्माण भएपछि झापाको भद्रपुरदेखि सुनसरीको इनरुवासम्म जान तथा नयाँ बजार–मोतिपुर– सिद्रहा हुँदै बेलबारीसम्म जानका लागि पनि यो पुल उपयुक्त मानिएको छ । पुलको काम ९५ प्रतिशत पूरा भइसेको छ भने केही महिनापछि नै सञ्चालनमा आउने सडक डिभिजन कार्यालय विराटनगरको भनाइ छ ।

    पुल बनेपछि किसानलाई धेरै सहज भएको ग्रामथानका अध्यक्ष शिवनारायण माझीले बताए । “बाढी आयो भने खोलाबाटै तर्नुपर्ने बाध्यता किसानलाई थियो, पुल बनेपछि खेतीपातीमा जानआउनका लागि पनि किसानलाई सहज भएको छ”, उनले भने, “बेलबारी, कसेनी, मोतिपुर जोड्न मात्रै नभएर झापाको भद्रपुरबाट विराटनगरसम्म आउजाउका लागि पनि यो पुल महत्वपूर्ण रहेको छ ।” सोही पुलको सुरक्षाका लागि रु ४८ लाखको लागतमा बाँध निर्माण पनि धमाधम भइरहेको कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजना प्राविधिक शाखाका इन्जिनीयर कृष्णप्रसाद खतिवडाले बताए ।

    प्रतिकृया दिनुहोस