• देश

    किन हत्याको षड्यन्त्र देख्छन प्रचण्ड ? | OmkarTimes.com

      ओमकार



    काठमाडौं । तत्कालीन नेकपा माकेका अध्यक्ष प्रचण्डले सेनापति प्रकरणपछि प्रधानमन्त्री पदबाट हटेर आफ्नो हत्या गर्ने षड्यन्त्रबारे सार्वजनिक रुपमा बोल्नु भएको थियो । सेनापति प्रकरणपछि सत्ताबाट हट्नुपर्दाको परिणाम भने ।

     

    धेरैले प्रचण्डको अभिव्यक्ति आक्रोशको परिणाम भने । गत शनिबार फेरि प्रचण्डले हत्याको षड्यन्त्र हुन सक्ने औंल्याउनु भयो । आफूहरु पनि मारिन सक्ने भन्दै उहाँले विगतका हत्याकाण्ड र रहस्यमय मृत्युका घटनाबारे व्याख्यासमेत गर्नुभयो ।

     

    मदन भण्डारी फाउण्डेशनद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले बोलिरहादा प्रम तथा नेकपा अध्यक्ष ओली पनि सँगै हुनुहुन्थ्यो । प्रचण्डको अभिव्यक्ति त्यतिबेला आएको थियो–जतिबेला देशमा शक्तिशाली व्यक्तिका हत्याको आशंका गर्न थालिएको छ ।

     

    आफूहरु पनि मारिन सक्ने खतरा प्रचण्डले त्यसै औंल्याउनु भएको छैन । त्यसमाथि उहाँले विदेशी शक्तिको भूमिकामाथि समेत आशंका व्यक्त गर्नु भएको छ । अहिले प्रम निकटस्थ धेरैले सार्वजनिक रुपमा विदेशी चलखेलबारे अभिव्यक्ति दिइरहेका छन् ।

     

    प्रचण्ड स्वयं हत्या हिंसाको राजनीतिबाट सत्ताको ढोका उघार्न आइपुग्नु भएको हो । उहाँले नेतृत्व लिएको दलले दश वर्ष लामो सशस्त्र गतिविधि गर्दा १८ हजार मारिए । उहाँमाथि दलकै कतिपय नेता कार्यकर्तामाथि षड्यन्त्र गरेको आरोप छ ।

     

    हिंसात्मक राजनीतिमा प्रचण्डले खेल्नु भएको भूमिकाले पनि उहाँलाई सुरक्षा थ्रेट बढी नै छ र त्यही अनुसार सुरक्षा पनि दिइएको छ । माके जनयुद्धकै बखत दरबार हत्याकाण्ड भयो । रहस्यमय हत्याकाण्डको रिपोर्ट तयार भए पनि यसमाथि आशंका छ ।

     

    कसले हत्या गर्यो ठोस प्रमाण कसैसँग छैन । आधुनिक नेपालको इतिहासमा राजतन्त्र समाप्त गर्ने एउटा मुख्य आधार दरबार हत्याकाण्ड बन्यो । त्यसैले यसका पछाडि रणनीतिक उद्देश्य थियो भन्ने तर्क गर्ने ठाउँ छ । तर, तथ्य छैन दरबार हत्याकाण्ड कुन उद्देश्यले कसले गर्यो ।

     

    नेपालको इतिहासमा हत्याकाण्डबाट सत्ता हत्याइएका घटना धेरै छन् । पृथ्वीनारायण शाहपछि कतिपय राजाको हत्या भयो । रणबहादुर शाह मारिए । राजेन्द्र वीर विक्रम शाहको रहस्यमय मृत्यु भयो । त्रैलोक्य वीर विक्रम शाहको मृत्यु पनि रहस्यमयी बन्यो ।

     

    प्रम या काजी बन्न रक्तपात नै गर्नुपर्ने अवस्था पनि बन्यो । भीमसेन थापा, माथवरसिंह थापा, गगन सिंहमात्र नभई जंगबहादुर राणाका छोरा आफ्नै परिवारका सदस्य या नजिकका मित्रबाट मारिए । राणाहरुबीचको द्वन्द्व व्यक्ति हत्यासम्म पुग्थ्यो ।

     

    एकले अर्कोलाई सत्ताबाट हटाउन कि त रगत बगाउँथे कि त बल प्रयोग गर्थे । नेपाली राजनीति कहिले संग्लो तालजस्तो बनेन । जहिले हिंसाको बाटो लिएर सत्तामा पुग्ने परम्परा बन्दै आयो । अहिले देशमा शान्तिपूर्ण अवस्था छ ।

     

    तैपनि, विदशी चलखेल बढेको विषय उठिरहेछ । ओलीका विदेश मामला सल्लाहकार डा.राजन भट्टराईले केही विदेशीको भूमिका नेपालमा राजनीतिक अस्थिरता ल्याउन उद्दत रहेको समाजिक संजालमा लेखेका छन् । ती विदेशीहरु को को हुन् र कस्ता शक्ति हुन् स्पष्ट छैन ।

     

    तर, नेपालमा भएका कतिपय उच्च तहका व्यक्तिको हत्यामा विदेशीतर्फ औला ठडिने गरेको छ । कमजोर देशका शासक त्यसै पनि कम सुरक्षित हुन्छन् । जतिसुकै सुरक्षा घेराभित्र राखिए पनि उहाँहरुलाई सुरक्षा थ्रेट हुन्छ, विमर्शमा उल्लेख छ ।

     

    षड्यन्त्रपूर्वक राजनीतिमा कमजोर पारिने नसके हत्यासम्म गर्ने अफ्रिकी देशहीमा भएका छन् । संवेदनशील राजनीतिक परिस्थितिबाट गुज्रिरहेको सामरिक महत्वका देशमा नेतामाथि आन्तरिक मात्र नभई बाह्य सुरक्षा थ्रेट हुन्छ । त्यसैले प्रचण्डको अभिव्यक्तिमा दम छ । यहाँ जो जहिले पनि मारिन सक्छ ।

    प्रतिकृया दिनुहोस