• राजनीति

    सरकारले तरकारीको विषादी परीक्षण रोकेको भन्दै भीम रावल आक्रोशित

      ओमकार



    काठमाडौ । भारतको दबावपछि तरकारी र फलफूलमा विषादी परीक्षण रोकिएको विषयमा सत्तारूढ दल नेकपा नेता भीम रावलले आपत्ति जनाएका छन्। उनले सर्वभौम सरकारी अधिकारी प्रयोग गर्न सरकार चुकेको आरोप लगाएका छन्।

     

    शनिबार बसेको नेकपा संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै नेता रावलले सरकारको कदमप्रति आपत्ति जनाएका हुन्।

     

    विश्‍व व्यापार संगठनमा गरिएको सम्झौताअनुसार नै कुनै पनि देशले तरकारी वा वनस्पती आयात गर्ने क्रममा निश्‍चितम पदण्ड तोक्न पाउने व्यवस्था गरिएको विषय रावलले स्मरण गराए।

     

    ‘आयातित सामग्री कस्तो छ भनेर चेक गर्छुभन्दा नगर्ने भन्ने अनि कसैले नगर भन्दैमा निर्णय फिर्ता लिने’ रावलले भने ‘यो सार्वभौम देशको अधिकार भित्रको रक्षा सरकारले गर्नु पर्छ।’

     

    आयात हुने तरकारी तथा फलफूलको अवस्था जाँचबुझ गर्ने यसअघिको सरकारको निर्णय सही भए पनि फिर्ता लिने निर्णयले सरकारले जनताप्रति कर्तव्य निर्वाहामा विमुख देखिएको रावलको दाबी छ।

     

    भारतले पनि अन्य देशबाट मात्रै नभई नेपालबाट जाने चिया रोकेर चेकजाँचको लागि नमूना कलकोत्ता पठाएको विषयमा पनि रावलले ध्यानकर्षण गराए।

     

    भारतले चर्को दबाब दिएपछि वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषदले सीमामा तरकारी तथा फलफूलको विषादी जाँच्ने निर्णय फिर्ता लिएको हो ।

     

    सरकारले गत जेठ १० गते भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को उक्त निर्णयपछि असार २ गते राजपत्रमा सूचना निकालेर भन्सारमा चेकजाँच थालिएको थियो।

     

    सरकारको निर्णायनुसार उद्योग वाणिज्य मन्त्रालयले भारतसहित तेस्रो मुलुकबाट आयात हुने रेडबुलसहितका पेय पदार्थमा पनि सरकारले प्रतिबन्ध लगाएको छ। शक्तिवर्द्धक पेय पदार्थमा प्रतिबन्धसँगै तरकारीमा विषादी पनि जाँच थालिएको थियो।

     

    सरकारले भारत र तेस्रो मुलुबाट आइरहेको तरकारी र फलफूल भन्सार बिन्दुमै क्‍वारेन्टाइन र विषादीको अवशेष परीक्षण गर्ने बताएको थियो।

     

    सरकारले गरेको निर्णयानुसार सुनौली, वीरगन्ज, विराटनगर, नेपालगञ्ज र काँकडभिट्टासहितका नाकाबाट आउने तरकारी र फलफूल परीक्षण भइरहेको थियो। परीक्षणका क्रममा विषादी नभएको कागजात नेपाली अधिकारीले दिएपछि मात्रै भारतीय तरकारी नेपाल छिर्ने व्यवस्था गरिएको थियो।

     

    भारतको तीव्र दबावपछि नेपाल सरकारले विषादी परीक्षण फिर्ता लिएको हो। सरकारको निर्णयसँगे भारत र तेस्रो मुलुकबाट आउने तरकारीमा तत्काल विषादी परीक्षण हुनेछैन।

     

    नेपालका सीमामा विषादी परीक्षणस्थल नभएकाले भारत र तेस्रो देशबाट आउने तरकारी र फलफूलको नमूना संकलन गरेर काठमाडौंको कालीमाटीमा परीक्षा गरिन्थ्यो । त्यसो गर्दा तीनदेखि चार दिनसम्म समय लाग्थ्यो ।

     

    यो अवधिमा भारत र अन्य मुलुकबाट आएको फलफूल र तरकारी कुहिने अवस्था भएको थियो । सरकारले सीमामा विषादी परीक्षणस्थल आगामी ६ महिनामा बनाइसक्ने गरी आफ्नो निर्णय फिर्ता लिएको हो।

    प्रतिकृया दिनुहोस