• कला/ साहित्य

    पुर्णिका शाहको देशभक्तिले ओतप्रोत कबिता `बडामहाराजाधिराज पृथ्वीनारायणको इमेल´ | OmkarTimes.com

      ओमकार

     


    ✍️ पुर्णिाका शाह

     

    `बडामहाराजाधिराज पृथ्वीनारायणको इमेल´

     

    आगे प्यारा सन्ततिहरु
    ससाना रुमालहरु जोडेर
    एक थान नेपाल बनाएको थिएँ
    त्यसलाई कस्तो छ अहिले?
    सन्चो छैन सुनिरहेछु
    देशलाई कस्तो छ अहिले?

     

     

    यता आएका आत्माहरु
    खासखुस गर्दै थिए
    कालगतिले मर्न पनि पाइएन
    मर्ने बेलामा
    आमाको मुख हेर्न पनि पाइएन
    स्वास्नीको दु:ख हेर्न पनी पाइएन।

     

     

    कस्तो अनर्थ सुनिरहेछु
    सुनेपछी मनमनै गुनिरहेछु
    म एउटा घर
    बनाउँदाबनाउँदै मरे
    तिमिहरु त्यो घर
    भत्काउँदाभत्काउँदै मरिरहेछौ।

     

     

    फेरि एउटा दिव्योपदेश सुन
    नेपाल छ, र तिमिले
    बेवारिस खाते हुनु परेन
    एक मुठी माटोको लागी
    कहिल्यै रुनु परेन
    आफ्नो मटोलाइ माया गर।

     

     

    ठुला दु:खले आर्जेको
    एउटा सानो घर थियो
    त्यो घरमा तिमिहरुले
    आगो झोस्यौ कि क्या हो?
    अन्तत आफ्नै अनुहारमा
    अगुल्टो ठोस्यौ कि क्या हो?

     

     

    आमाहरु सन्तान सृजना गर्छन्
    तर म
    आमा सृजना गर्ने सन्तान
    तिमी नै भन त
    ती आमा विरामी हुँदा
    मलाई कति चोट परेको होला!

     

     

    मेरा प्यारा नेपालीहरु!
    तिमीले दिएको तर्पण पाइरहेछु
    तिम्रो गुणगान गाइरहेछु
    तर मलाईजस्तै देशलाई पनि
    तर्पण र अर्पण गर्ने कर्म
    कदापि नगर्नू है!

     

     

    देश युद्धबन्दी भएको
    अशुभ सपना देखिरहेछु,
    प्यारा देशवासिलाई
    एउटा अर्जि लेखिरहेछु
    बन्द गर आत्माघाती लडाइँ
    र, बहाली गर हर्षबढाइँ।

     

    #चेतना_भया

    (पुर्णिाका शाह पुर्वराजा ज्ञानेन्द्र शाहकि नातिनी हुनुहुन्छ)

     

     

     

    प्रतिकृया दिनुहोस