• सम–सामयिक

    झापाको बुद्धशान्ति गाउँपालिका एक हप्ताको लागि सिल

      ओमकार टाइम्स


    झापा । कोरोना संक्रमितको सङ्ख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ । पालिकाले आज राति १२ बजेदेखि साउन १२ गते राति १२ बजेसम्मका लागि सबै वडा सिल गर्ने भएको हो ।

    पालिकाका अध्यक्ष रमेश भुजेलले पालिकाभित्रका सम्पूर्ण पसल, व्यवसाय, सरकारी तथा गैरसरकारी कार्यालय र मानिसको आवतजावतसमेत पूर्णरूपमा बन्द गरिने बताए ।

    अत्यावश्यक सेवा भने सञ्चालन गरिने उनको भनाइ छ । उनले मेची राजमार्गमा आवतजावत हुने सवारी साधनलाई भने रोक नलगाइएको बताए । वडाहरुमा गरिने एन्टिजेन परीक्षणबाट दैनिक ३५ देखि ४० जनासम्ममा पोजेटिभ देखिएपछि बाध्य भएर पालिका बन्द गर्नुपरेको बताए ।

    पछिल्लो समय कोरोना सङ्क्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि तथा स्थानीय प्रशासनको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

    कोरोना संक्रमितहरु नै बजारसम्म तरकारी किन्न जाने र बेवास्ता गर्दै खुलेआम हिँडिरहने कारण पनि कोभिड–१९ को संक्रमण दर बढेको उनको भनाइ छ ।

    पालिकाका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले दोस्रो लहरको कोभिड–१९ को भेरियन्टमा मात्र १४ जनाको मृत्यु भइसकेको बताए । उनका अनुसार पालिकाभित्र हालसम्म ३५० सक्रिय संक्रमित रहेका छन् ।

    प्रतिकृया दिनुहोस