• राजनीति

    खोटाङमा मन्त्री लालबाबु पण्डितको पुत्ला दहन | OmkarTimes.com

      ओमकार


    खोटाङ । लोकसेवा आयोगको विज्ञापन संविधानको भावना र मर्म विपरीत खुलाइएको भन्दै विरोधस्वरुप खोटाङमा लालवावु पण्डित र उमेश मैनालीको पुत्ला जलाईएको छ ।
    उक्त विज्ञापनको विरोधमा उत्रिएका आन्दोलनकारीले दिक्तेलवजारमा सामान्य प्रशासन मन्त्री पण्डित र आयोगका अध्यक्ष मैनालीको पुत्ला जलाएका हुन् ।
    आदिबासी, जनजाति, दलित, मधेशी, मुस्लिम लगायतको अधिकार कटौती हुने गरी आयोगले विज्ञापन खुलाएको बिरोध गर्दै दिक्तेलवजारको त्रिवेणीचोकमा शुक्रवार पुत्ला दहन गरिएको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिका सचिव रविन खम्बुले जनाउनुभयो ।
    जिल्लामा नेपाल आदिबासी जनजाती महासंघ खोटाङ एबं आदिबासी जनजाती संगठन आवद्ध संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले चरणवद्द आन्दोलन गरिरहेका छन् । यो आन्दोलन निरन्तर जारी रहने संघर्ष आन्दोलन परिचालन समितिले जनाएको छ ।
    सरकारको आग्रहमा लोक सेवा आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ सिटका लागि विज्ञापन खोलेको छ । ती पदका लागि ४ लाख ४१ हजार १ सय ४१ दरखास्त परेको छ ।
    आदिवासी जनजातीको कोटामा ४३ हजार ३ सय २०, मधेसी कोटामा २४ हजार ९०, दलितमा ३ हजार ९१, पिछडिएको क्षेत्रमा १ सय १६, अपांगमा १ सय ४६ र महिला कोटामा १ लाख ३ हजार ५ सय ६७ दरखास्त परेका लोक सेवाले जनाएको छ ।
    तर, यो विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजाती महासंघले आन्दोलन गर्दै आएको छ । लोक सेवा आयोगको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा समेत मुद्दा परेकोमा सर्वोच्चले विज्ञापन रोक्न नपर्ने अन्तरिम आदेश दिएपछि परीक्षा लिन लागिएको हो ।

    प्रतिकृया दिनुहोस