• समाचार

     भारत सरकारले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपहारस्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण

      ओमकार टाइम्स

    काठमाडौं– भारत सरकारले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपहारस्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।

    बिहीवार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भारतीय जनता र सरकारको तर्फबाट नेपाल सरकारमार्फत् वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् ।

    अक्सिजन प्लान्ट ग्रहण गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरे । उनले भारत सरकारको यस सहयोगले अक्सिजनको अभावलाई पुर्ति गर्ने बताए । भारत सरकारले कोभिड नियन्त्रणका लागि नेपाल सरकारलाई खोप लगायतका अन्य स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको उल्लेख गर्दै आगामी दिनमा पनि कोभिशिल्ड खोप उपलब्ध गराउनेमा विश्वास व्यक्त गरे ।

    अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि भारतिय राजदूत विनयमोहन क्वात्राले कोभिड १९ संक्रमणका बेलामा अक्सिजन प्लान्टको आवश्यकता पर्ने भन्दै नेपाल र भारत छिमेकी देश भएका नाताले आपसमा निर्भर भएर काम गर्नुपर्ने बताए ।उनले भने – ‘मेडिकल प्रोसेसका लागि अक्सिजन प्लान्ट इन्फास्ट्रक्चरको आवश्यक छ । नेपाल र भारत छिमेकी देश हुन् । नेपाल र भारतले एक अर्कामा निर्भर भएर काम गर्नुपर्छ । कोरोनाको दोस्रो लहरको बेलापनि हामीले केही सहयोग गरेका थियौँ र अब पनि गर्नेछौँ ।’

    राजदूत क्वात्राले कोभिड १९ नियन्त्रणका लागि नेपाल सरकारलाई आगामी दिनमा पनि सहयोग गर्न भारत सरकार तयार रहेको बताए ।

    प्रतिकृया दिनुहोस