काठमाडौ । बन्दको अवज्ञा गरेको भन्दै नेपाल आदिवासी जनजाति महासङ्घ झापाका कार्यकर्ताहरूले यात्रु बाहक बसमा तोडफोड गरेका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका– १० स्थित वुट्टवारी नजिकै शनिवार बिहान बस तोडफोड गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे १ ख २७९५ नम्बरको सूर्योदय यातायातको बस तोडफोड गरेको हो ।
तीन वटा मोटरसाइकलमा माक्स लगाएर आएका कार्यकर्ताहरूको समूहले बसमा ढुङ्गा प्रहार गरेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन् ।संविधानले व्यवस्था गरेको लोकसेवा आयोगको आरक्षण कोटा कटौती गरेको भन्दै नेपाल आदिवासी जनजाति महासङ्घ झापाले प्रदेश नं १ मा शनिवार बन्दको घोषणा गरेको छ ।
लोकसेवा आयोगले स्थानीय तह र प्रदेशका लागि ९ हजार एक सय २६ जना निजामती कर्मचारीका लागि आव्हान गरेको विज्ञापनमा आरक्षण ४५ प्रतिशत हुनु पर्नेमा २३ प्रतिशत मात्र राखिएको प्रति महासङ्घले आपत्ति जनाउँदै प्रदेश एक बन्दको आव्हान गरेको हो ।शुक्रवार साँझ मात्रै महासङ्घले बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै बन्दको कार्यक्रम सार्वजनिक गरेको थियो ।
महासङ्घले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको शुक्रवार बेलुका बिर्तामोडको मुक्तिचोकमा पुत्ला दहन समेत गरेका थिए । यसैबिच झापासहित पूर्वका व्यवसायीहरूले बन्दको अवज्ञा गरेका छन् ।
झापामा बिहान बन्दको सामान्य प्रभाव देखिएपनि दिउँसोदेखि निर्बाध रूपमा सवारी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बन्द कार्यकर्ता कतै देखा नपरेको प्रहरीले बताएको छ ।
( प्रदेश टाइम्स )
प्रतिकृया दिनुहोस