• देश

    नेकपाका सांसदले पत्रकारलाई बेपत्ता बनाउने दिए धम्की | OmkarTimes.com

      ओमकार



    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश सांसद राजकाजी महर्जनले पत्रकार रामहरि कार्कीलाई बेपत्ता बनाउने धम्की दिएका छन् ।

     

     

    ललितपुरमा शनिबार बिहान पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागी भएका बेला दैनिकीन्युज डटकमका सम्पादक कार्कीलाई प्रदेश सांसद महर्जनले बेपत्ता बनाइदिने धम्की दिएका हुन् । महर्जन ललितपुर क्षेत्र नं. २ ‘क’बाट प्रदेश ३ को प्रदेश सांसदमा निर्वाचित भएका हुन् ।

     

    प्रदेश सांसद महर्जनले पत्रकार कार्कीलाई एकान्तमा बोलाइ लचारपछार पार्दै दुर्व्यवहार समेत गरेका छन् । दुईतिहाइको कम्युनिस्ट सरकारको सत्ताको आड देखाउँदै प्रदेश सांसद महर्जनले कार्कीलाई डर, त्रास र धम्की दिएका हुन् ।

     

    सम्पादक कार्कीले आफूलाई प्रदेश सांसद महर्जनले लछारपक्षर र बेपत्ता बनाउने धम्की दिएको विषयमा नेकपा निकटका पत्रकारहरूको संस्था प्रेस संगठनका सहसंयोजक गणेश बस्नेतलाई जानकारी गराएका थिए ।

     

    तर, सहसंयोजक बस्नेतले कार्कीको कुरालाई बेवास्ता गर्दै ‘संयोजक महेश्वर दाहाल’लाई भन्नुस् भन्दै पन्छिएको सम्पादक कार्कीले बताएका छन् ।

     

    समाचारको विषयलाई लिएर प्रदेश सांसद महर्जनले सम्पादक कार्कीलाई विभिन्न अश्लील शब्दहरू प्रयोग गर्दै गाली गरेका छन् । सम्पादक कार्कीले भने, ‘प्रदेश सांसद महर्जनले मलाई जे पनि गरिदिने चेतावनी दिनुभएको छ । मलाई लछारपछार गरेर दुर्व्यवहार पन गर्नुभएको छ ।´

     

     

    ‘तेरो त कलम मात्र चल्छ । मेरो त सबै चल्छ’, सम्पादक कार्कीले प्रदेश सांसद महर्जनको धम्की उदृत गर्दै भने, ‘सिन्धुलीको मान्छेलाई ललितपुरको समाचार लेख्ने कुनै अधिकार छैन ।’

     

    कार्की नेपाल पत्रकार महासंघ ललितपुर शाखाका कोषाध्यक्ष समेत हुन् । कार्कीमाथि जुनसुकै बेला जे पनि गर्ने सत्तारूढ दलकै जनप्रतिनिधिको चेतावनीले स्वतन्त्र प्रेसमाथि थप चुनौती थपिएको छ ।

     

    प्रकाशित समाचार चित्त नबुझे खण्डन गर्न पाउने स्वतन्त्रता हुँदाहुँदै सार्वजनिक कार्यक्रममा एकजना सम्पादकलाई गायब गराउने भनेर सत्तारुढ नेकपाका प्रदेश सांसद महर्जनले धम्की दिएपछि ललितपुर जिल्लाका पत्रकारहरूमा त्रास फैलिएको छ ।

     

    यसबारेमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सत्तारुढ दलकै जिम्मेवार जनप्रतिनिधिले दिएको धम्कीले स्वतन्त्र प्रेसकै खिल्ली उडाएको भन्दै विधि र प्रक्रिया मिचेर दिएको धम्कीप्रति आपत्ति जनाए ।

     

    नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष ज्ञानप्रसाद पौडेललाई घटनाबारे जानकारी गराइएको कार्कीले बताएका छन् ।

     

    ललितपुर पत्रकार महासंघका शाखाका अध्यक्ष पौडेलले फोनमा सम्पर्क गर्दा प्रदेश सांसद महर्जनले फोन उठाएका छैनन ।

     

    प्रदेश सांसद महर्जन नेकपा ललितपुरका जिल्ला सचिव पनि हुन् । पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष पौडेलले सत्तारूढ दलको ललितपुर जिल्ला सचिव जस्तो व्यक्तिले पदीय हैसियत भुलेर पत्रकारलाई दिएको धम्कीप्रति आपत्ति जनाएका छन् । स्मरण रहोस् महर्जन संविधान सभा ०६४ का प्रतिनिधि सभा सदस्य पनि हुन् ।

     

    प्रधानमन्त्री खड्गप्रसाद ओलीले दुईतिहाइको कम्युनिस्ट सरकारको कसले आलोचना गर्‍यो भने ‘अरिँगाल’ बनेर खनिनु भनेर निर्देशन दिएका थिए । तर, त्यो निर्देशनलाई प्रदेश सांसद महर्जनले समाचार लेख्ने पत्रकारमाथि ‘अरिँगाल’ बनेर बेपत्ता बनाउनेसम्मको धम्की दिएर आलोचित बनेका छन् ।

    प्रतिकृया दिनुहोस