• राजनीति

    मन्त्रालयको भागबन्डा मिलाउन पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा

      ओमकार टाइम्स

    काठमाडौँ : मन्त्रालयको भागबन्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ। आइतबार बिहान र साँझ दुईपटक बैठक बसे पनि मन्त्रालय भागबन्डाका विषयमा सहमति नजुटेपछि अहिले पुनः गठबन्धनका नेताहरूको बैठक बसेको हो । प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार ) मा सुरु बैठकमा जनता समाजवादी पार्टी जसपाबाट अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल छन् ।

    बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । गठबन्धनका दलबीच कुन दलले कति मन्त्रालय लिने भन्नेमा सहमति भएपछि आजै सम्बन्धित दलले मन्त्री बन्नेहरूको नाम दिने र मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ। एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरूको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई हिजै दिइसकेको छ।

    यस्तै जसपाले आजै बैठक बसेर नाम टुंगो लगाउने बताइएको छ।जसपामा राजेन्द्र श्रेष्ठले सरकारको नेतृत्व गर्ने सम्भावना उच्च छ। यस्तै मोहम्मद इस्तियाक राई, महेन्द्र राय यादव र रेनु यादव मन्त्री हुनेछन्। जसपाले ४ मन्त्री र एक राज्यमन्त्री पाउने लगभग समझदारी बनेको छ। लामो समयसम्म पनि देउवा सरकारले मन्त्रीमन्डल विस्तार गर्न नसक्दा आलोचना भइरहेको छ ।

    प्रतिकृया दिनुहोस