• समाचार

    निरन्तर वर्षापछिको बाढी र पहिरोका कारण दार्चुलामा तीन जनाको मृत्यु दुई जना बेपत्ता

      ओमकार टाइम्स

    दार्चुला : निरन्तर वर्षापछिको बाढी र पहिरोका कारण दार्चुलामा तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । आइतबार राति आएको बाढी पहिरोमा परी दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति भएको प्रहरीले जनाएको छ। पहिरोले घर पुर्दा दुहुँ गाउँपालिका–१, बस्पालीका नरसिंह महरा र उनकी पत्नी कौशीदेवी महराको मृत्यु भएको हो ।

    त्यस्तै दुहुँ–५, डल्लाका मनुवा डडालको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुवबहादुर विष्टले जानकारी दिए। मनुवाकी श्रीमती उजलीलाई भने उद्धार गरिएको विष्टले बताए । वडा नम्बर ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता भएका छन् ।

    निजाङगाड खोलाको बाढीले बगाउँदा स्थानीय शेरसिंह कार्की र हर्कसिंह कार्की बेपत्ता छन् । यो क्षेत्रमा पाँचवटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल बगाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए । दुहु ३ को श्रीवगडमा निजाङगाडको बाढीले पूर्णबहादुर बम, नरेन्द्रबहादुर बम, दीपक बम, रणबहादुर बम, धिरेन्द्र बम, शेरबहादुर बमको घर बगाएको छ ।

    यस्तै महाकाली नगरपालिका- १ को श्रीबगडमा देवबहादुर बम, अमरबहादुर बम, सुन्दर बहादुर बम र जितबहादुर बमको होटल तथा पसल बगाएको छ ।अहिले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीयहरू पुगेका छन् । बाटो घाटो नहुँदा उद्दार कार्यमा ढिलाइ भइरहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

    प्रतिकृया दिनुहोस