• सम–सामयिक

    नवलपरासीमा अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने अभियान सुरु

      ओमकार टाइम्स

    नवलपुर- अपाङ्गता भएका व्यक्तिहरू नागरिकताबाट वञ्चित नहुन र सहज रुपमा नागरिकता प्राप्त गर्न सकून् भनेर त्यस्ता व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्न सुरु गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने अभियान सुरु गरेको हो ।प्रमुख जिल्ला अधिकारी मनमाया पँगेनीले गैँडाकोट नगरपालिका–१२ र १३ का अति अशक्त रुपमाया सापकोटा, सौरभ हमाल र समीर थापालाई घरमै पुगेर नागरिकता प्रदान गरी अभियानको सुरुआत गरेका छन् । अति अशक्त, अपाङ्गता भएका व्यक्ति जिल्ला प्रशासन कार्यालयसम्म आउन निकै समस्या हुने हुँदा उनीहरूको सहजताका लागि र उमेर पुगेर पनि समयमा नागरिकता नबनाई नबसून् भनेर अभियानको थालनी गरिएको प्रजिअ पँगेनीले बताए ।

    जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै आठवटै स्थानीय तहसँग समन्वय गरेर अभियानलाई निरन्तरता दिने उनले बताए । कतिपय अति अशक्त अपाङ्गता भएकालाई परिवारले नागरिकता बनाउन प्रशासनमा ल्याउन नसक्दा ती नागरिक नागरिकताविहीन हुने र उनीहरूले सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनुपर्ने अवस्था आउने हुँदा यो अभियान सञ्चालन गरेको पँगेनीले बताए ।

    अपाङ्गता परिचयपत्र स्थानीय तहले प्रदान गर्ने भएकाले कुन वडामा कति जना, अति अशक्त र अपाङ्गता भएका नागरिक छन्, नागरिकता नबनाएका कति छन्, त्यसको लगत स्थानीय तहबाट लिने र त्यसैका आधारमा नागरिकता  वितरण गर्ने गरी काम अगाडि बढाइएको प्रजिअ पँगेनीले बताए । अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने अभियान राम्रो भएको अपाङ्ग पुनस्र्थापना केन्द्र नवलपुरका अध्यक्ष सागर लुइँटेलले बताए  । जिल्ला प्रशासनको यो अभियानलाई सार्थक बनाउन स्थानीय तहले समेत भूमिका निर्वाह गरे अपाङ्गता भएका नागरिकले सहज रुपमा नागरिकता प्राप्त गर्ने र राज्यबाट पाउने सेवासुविधाबाट उनीहरु वञ्चित हुनुनपर्ने उनले बताए ।

    यसैबीच, जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीबाट गत आर्थिक वर्ष २०७७÷७८ मा आठ हजार सात सय ५६ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ भने चार हजार चार सय ७१ जनाको साधारण राहदानीको सिफारिस गरिएको  छ । एक हजार चार सय ७९ जनाको दु्रत राहदानी सिफारिस गरिएको छ ।

    प्रतिकृया दिनुहोस