• राजनीति

    संवैधानिक इजलासमा हरि फुयालको सुनुवाइ हुँदै

      ओमकार टाइम्स


    काठमाडौं । संविधान बमोजिम प्रधानन्यायाधीशको नेतृत्वमा बाहेक अरुको अध्यक्षतामा संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै परेको रिटमाथिको सुनवाईका लागि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा पेसी तोकिएको छ ।

    अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा प्रधानन्यायाधीशले संवैधानिक इजलासको नेतृत्व नगर्नु संविधानको विपरित हुने भएकाले प्रधानन्यायाधीशको नेतृत्वमा इजलास गठन गर्न परमादेश माग गरिएको छ ।

    साथै संविधान र कानूनको आधारविना प्रधानन्यायाधीशलाई संवैधानिक इजलासमा नबस्ने सल्लाह दिएको भए त्यसको कार्यान्वयन नगर्न परमादेश माग गरिएको छ ।

    रिट निवेदनमा संवैधानिक इजलासमा संवैधानिक नियुक्तिका विवाद हेर्न नसक्ने भए कारण उल्लेख गरी सर्वोच्च अदालतका सबै न्यायाधीशहरुको वृहत पूर्ण इजलास गठन गरी गम्भीर संवैधानिक प्रश्नको निरुपण हुनुपर्ने माग गरिएको छ ।

    त्यस्तै अधिबक्ता दिपकविक्रम मिश्रले दर्ता गराएको प्रधानन्यायाधीश वा न्यायाधीशले आफ्नो स्वर्थ जोडिएका मुद्धा हेर्न नहुने प्राकृतिक न्यायको सिद्धान्त र न्यायाधीशको आचारसंहिता पालना गराउन माग गरिएको रिटको सुनुवाई पनि सोही इजलासमा तोकिएको छ ।

    यस्तै, प्रधानन्यायाधीश वा न्यायाधीशको स्वार्थ बाझिने अवस्थामा त्यस्तो न्यायाधीश वा प्रधानन्यायाधीशको सट्टा निजपछिको न्यायाधीशको चयन गर्न समेत माग गरिएको छ ।

    साथै सो रिटमा संवैधानिक इजलासका लागि सर्वोच्च अदालतका सबै न्यायाधीशहरु स्वत रोष्टरमा रहने व्यवस्था गर्न समेत माग गरिएको छ ।

    यसो गर्दा विशेष प्रकृतिका मुद्दामा विषयविज्ञताका आधारमा न्यायाधीशहरुको चयन गर्न सहज हुने रिटमा दावी गरिएको छ ।

    प्रतिकृया दिनुहोस