• समाचार

    १३ वर्षीया बालिकालाई भारतमा बेचेको आरोपमा ५० वर्षीया एक महिलालाई पक्राउ

      ओमकार टाइम्स

    कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ वर्षीया बालिकालाई भारतमा बेचेको आरोपमा ५० वर्षीया एक महिलालाई पक्राउ गरेको छ । भेरीगङ्गा नगरपालिका–६ सुर्खेतकी महिलालाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सोमबार सार्वजनिक गरेको हो ।

    विसं २०७१ जेठ १८ गते गुर्भाकोट नगरपालिका–९ सुर्खेतकी १३ वर्षीय बालिकालाई ती ५० वर्षीया महिलाको योजना र प्रपञ्चमा उनकै छोरीले भारतमा राम्रो नोकरी लगाइदिन्छु भनी ललाइफकाई गरी दिल्ली लगी बेचबिखन गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

    ‘विसं २०७१ जेठ १८ गतेको घटनालाई उल्लेख गरेर आरोपित महिलाका विरुद्ध गुर्भाकोट नगरपालिका–९ का ५८ वर्षीया महिलाले विसं २०७७ माघ २६ गते सुर्खेत जिप्रकामा बालिका बेचबिखनको जाहेरी निवेदन दिएकी थिइन् ।

    प्रहरी नायब उपरीक्षक घर्तीले भने, ‘तर बेचिएको सात वर्षपछि पीडित बालिका भारतबाट यही भदौ २३ गते नेपाल आएकी छन् ।’ प्रहरीका अनुसार पीडित बालिका बेचिएको ठाउँमा १५ महिना बसेको र पछि त्यो ठाउँबाट भागेर मुम्बईमा काम गरी सात वर्षपछि नेपाल आउन सफल भएकी छन् ।

    प्रतिकृया दिनुहोस