• समाचार

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ३ सय ६० ग्राम सुन सहित २ जना पक्राउ

      ओमकार टाइम्स

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ३ सय ६० ग्राम सुनको विभिन्न गहनासहित २ जना पक्राउ  परेका छन् ।

    विमानस्थलको आन्तरिक उडान तर्फको व्यागेज एरियाबाट करिब २ करोड २४ लाख ९२ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरको ३ किलो ३ सय ६० ग्राम सुनका विभिन्न गहनासहित २ जना पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेहरुमा कैलाली बर्दगोरिया गाउँपालिका-१ घर भएका ३० वर्षीय बोध राज भण्डारी र धनुषा जनकपुर उपमहानगरपालिका-२ घर भएका ४७ वर्षीय मुरारी राज अधिकारी रहेका छन् ।

    श्री एयरलाइन्सको उडानद्वारा बिराटनगर जान लागेका उनीहरुलाई उक्त व्यागेज एरियामा खटिएको प्रहरीले एक्सरे मेशिनमा जाँच गर्ने क्रममा भण्डारीको साथबाट २२ क्यारेटको ५ सय १५ ग्राम बराबरको सुनका बिभिन्न गहना र अधिकारीको साथबाट २४ क्यारेटको ५ सय ९७ ग्राम, २२ क्यारेटको १ हजार ५ सय ५२ ग्राम तथा पत्थर जडित १४ क्यारेटको ६ सय ९६ ग्राम सुनका विभिन्न गहना आवश्यक भन्सार छलेर लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका दुईलाई विमानस्थलबाट सोमबार बिहान प्रहरीले पक्राउ गरेको विमानस्थल प्रहरीले जनाएको छ ।

    उनीहरुलाई बरामद सुन सहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुलचोक ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस