• विदेश

    बेलायतमा भारतीय मुलकी प्रीति गृहमन्त्री, पाकिस्तानी मुलका साजिद अर्थमन्त्री नियुक्त

     


    बीबीसी। भारतीय मुलकी प्रीति पटेल बेलायतकी नयाँ गृहमन्त्री बन्ने भएकी छन्। साजिद जाविदलाई गृहमन्त्रीबाट हटाएर अर्थ मन्त्री बनाइएको छ। साजिद जाविद पाकिस्तानी मुलका हुन्।

     

    अर्थात अब बेलायतमा गृहमन्त्री भारतीय मुलका र अर्थमन्त्री पाकिस्तानी मुलका बनेका छन्। बुधबार प्रधानमन्त्रीको पद सम्हालेका बोरिस जनसनले नयाँ मन्त्रिमण्डल गठन गरेका छन्। डोमिनिक राबलाई विदेश मन्त्रालयको जिम्मा दिइएको छ।

     

     

    दुई वर्ष पहिला एक विवादपछि प्रीति पटेलले टेरीजा सरकारबाट राजीनामा दिनु परेको थियो। तर अब उनी फेरि सरकारमा महत्वपूर्ण मन्त्रालयसहित आएकी छन्।

    ४७ वर्षीया प्रीतिको जन्म लन्डनमा भएको थियो। उनका आमा–बुवा भारतको गुजरातका हुन्। तर पछि उनीहरु युगाण्डा गएका थिए। १९६० को दशकमा उनीहरु बेलायतमा आएर बसेका थिए।

     

    प्रीति पटेल निकै कम उमेरमा कन्जर्भे्टिभ पार्टीमा संलग्न भएकी थिइन्। त्यो बेला उनको उमेर मात्र २० वर्षको थियो। त्यतिबेला जन मेजर बेलायतका प्रधानमन्त्री थिए।

     

    २०१७ मा आफ्नो निजी इजरायल भ्रमणलाई लिएर विवाद उत्पन्न भएपछि प्रीति पटेलले इन्टरनेशनल डेभलपमेन्ट सेक्रेटरी पदबाट राजीनामा दिनु परेको थियो। अगस्त २०१७ मा निजी पारिवारिक छुट्टीमा इजरायल भएकी थिइन्।

     

    उनले प्रधानमन्त्री बेन्यामिन नेतत्याहू र अन्य पदाधिकारीसँग पनि भेट गरेकी थिइन्। यसको जानकारी उनले बेलायत सरकार र इजरायलमा रहेको बेलायती दूतावासमा गराएकी थिइनन्। कन्जर्भे्टिम पार्टीमा उनलाई शसक्त नेताका रुपमा हेर्ने गरिएको छ।

     

    ४९ वर्षीय साजिद जाविद पाकिस्ताी मुलको परिवारमा बेलायतमा जन्मिएका हुन्। २०१८ मा जब टेरीजा मे बेलायतको प्रधानमन्त्री बनिन् तब उनलाई गृह मन्त्री बनाइएको थियो।

     

    उनी बेलायतमा पहिलो जातीय अल्पसंख्यक समुदायबाट गृहमन्त्री बन्ने व्यक्ति बनेका थिए। उनी २०१० देखि ब्रुम्सग्रोभबाट सांसद छन्। उनको जन्म रकडेलमा एउटा पाकिस्तानी परिवारमा भएको हो।

     

    आफ्नो परिवारका विषयमा उनले ईभिनिङ स्टेण्डर्डलाई भनेका थिए, ‘मेरा बुवा पाकिस्तानको एक सानो गाउँबाट आउनु भएको हो, उहाँ केवल १७ वर्षको उमेरमा काम गर्न बेलायत आउनु भएको थियो।’ उनले अगाडि भनेका छन्, ‘मेरा बुवा रकडेलमा बस्नु भयो र एउटा कपडा मिलमा काम गर्नु भयो।

     

    तर उहाँ महत्वकाँक्षी हुनुहुन्थ्यो। उहाँले के अनुभव गर्नु भयो भने ड्राइभरलाई राम्रो तलब हुन्छ। त्यसपछि उहाँ ड्राइभर बन्नु भयो। उहाँ दिन वा रात जति बेला काम मिल्छ गर्नुहुन्थ्यो। त्यही कारण उहाँलाई ‘मिस्टर नाइट एण्ड डे’ को नामले पनि चिनिन्थ्यो।’

    प्रतिकृया दिनुहोस