• देश

    रगत अभाव भएपछि उद्वारमा खटिएका सैनिक तथा प्रहरी रक्तदानमा जुटे

      ओमकार

     

    काठमाडौं । हावा हुरीका कारण घाइते भएकाहरुको उपचारका लागि रगत अभाव भएपछि उद्धारमा खटिएका नेपाली सेना तथा नेपाली प्रहरीका जवानहरु र सर्वसाधारण नै रक्तदानमा जुटेका छन् ।

    बारा र पर्सामा चार सयभन्दा धेरै मानिसहरु घाइते भएपछि उनीहरुको उपचारका लागि वीरगन्‍ज अस्पतालमा रगतको अभाव भएको हो ।

    एकैचोटी धेरै घाइतेहरुलाई रगत आवश्यक पर्दा रगत अभाव भएको जनाइएको छ ।

    प्रदेश नम्‍बर २ मा मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले ट्‍वीट गर्दै रगत अभावका भएकोले रक्तदान गर्न आह्वान गरेका हुन् । उनले ट्‍वीटमा लेखेका छन्, “वीरगन्‍ज अस्पतालमा रगतको अभाव देखियो, स्थानीय साथीहरु वीरगन्ज अस्पताल गई तत्काल रगत दान गरौँ ।”

    हावा हुरीका कारण बारा र पर्सा गरी कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ४०० भन्दा धेरै घाइते भएका छन् ।

    बाराको भलुही, भरबलीया, फेटा, चैनपुलगायतका गाउँहरु हुरीबाट बढी प्रभावित छन् ।

    तस्बिर : सामाजिक सञ्‍जाल

    प्रतिकृया दिनुहोस