• मुख्य

    राजसंस्था बिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन : पूर्वराजा ज्ञानेन्द्र

      ओमकार टाइम्स

    काठमाडौं । विजया दशमीको अवसरमा देशवासीमा भिडियो सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले देश भित्र र बाहिर रहे–बसेका सम्पूर्ण नेपालीहरुमा शान्ति र सुखको लागि शुभकामना व्यक्त गरेका छन् ।

    सन्देशमा उनले भनेका छन्, ‘हाम्रो समाज सनातनिक आदर्श र पुर्ख्यौली पौरखबाट पृथक छैन । तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यसअनुरुप हुन सकेन ।’

    लोक कल्याणका हेतु राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनुपर्ने भए पनि राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको उनको भनाइ छ ।

    उनले प्रश्न गरेका छन्, ‘कोरोनाको महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महँगी र अस्थिरताको भूमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ?’
    कुनै पनि परिवर्तनको मर्म देशसँग अन्तरसम्बन्धित हुने भन्दै उनले त्यसको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।

    ‘दुर्भाग्यवस्, शिक्षा तथा स्वास्थको व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टीकरण प्रशासनिक र राजनीतिक पेसाले सीमित व्यक्तिलाई फाइदा पु¥याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको छ,’ सन्देशमा उनले भनेका छन्, ‘त्यसैगरी सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म संस्कृति संकटमा पार्ने, राष्ट्र हितमा केन्द्रित रहनुपर्ने परराष्ट्र नीति असन्तुलित भइ राष्ट्र सुरक्षा स्वार्थमा चुनौती थपिएकाले हाम्रो मन पोलेको छ ।’

    यसैबीच, देशको तत्कालीन परिस्थितिले आफूलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने वोध गरेको उल्लेख गरेका छन् ।

    प्रजातन्त्रिक, प्रगतिशील या अन्य जुनसूकै विचारप्रति अस्थावान भए पनि राष्ट्रपतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास आफूले लिएको उनले प्रस्ट पारेका छन् ।

    ‘अतितका गौरवपूर्ण विधि, व्यवस्थालाई सम्झेर विद्यमानका नमिल्दो स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउँदो राजनीति राज्य व्यवस्थाका सबै क्रियाशील शक्तिहरुबाट सही सोच राख्नु देश र जनताको हितमा उपयुक्त अनुभूति हो भन्ने हाम्रो धारणा छ,’ सन्देशमा उनले भनेका छन्, ‘देशभन्दा माथि हामी कोही पनि छैनौं । श्री नवदुर्गा भवानीले सबै नेपालीमा राष्ट्र कर्तव्य निर्वाह गर्न सामर्थ प्रदान गरुन्, यही हाम्रो कामना छ । जय नेपाल ।’

    प्रतिकृया दिनुहोस