• पत्र-पत्रिका

    छोराछोरी शहर र विदेश, गाउँमा एक्लिदै आमाबुवा

      ओमकार


    काठमाडौँ । हरेक वर्ष आमाबाबुको मुख हेर्ने दिन धेरैको सामाजिक सञ्जालमा आमाबाबुको फोटो टाँसिएका भए पनि अचेल आमाबाबु भने एक्लिँदै गएका छन् । खास गरी बुढ्यौली लागेपछि बाबुआमा एक्लोपन, बेवास्ता, हिंसा र दुव्र्यवहारको सिकार हुनु परेको विभिन्न अध्ययनले देखाएको छ ।

     

    रामेछाप बेथानकी माइली तामाङ (७९)का नाति नातिनीसहित छ सन्तान छन् तर उहाँ भने गाउँमा एक्लै बस्नुहुन्छ । छोरा बुहारी, नाति नातिनी सबै काठमाडौँ बस्छन् । वर्षको दुई चार दिनका लागि घर आएर फर्कन्छन् उहाँहरू ।

     

    वर्षभरि एक्लै बस्ने उहाँका लागि कहिलेकाहीँ बिसन्चो हुँदा पानी खुवाउने साथी पनि कोही छैन । “छोरा बुहारी कामबाट फुर्सद पाउँदैनन्, नाति नातिनी पढाइबाट”, उहाँ भन्नुहुन्छ । रामेछापबाटै टेलिफोनमा उहाँले भन्नुभयो, “एक्लै पकाउने खाने गर्दै काल कुर्दै छु ।

     

    काम गर्न नसकेपछि कति कोदो मकै फल्ने बारीहरू बाँझै छन् । ” यसरी छोराछोरी गाउँ छाडी सहर र विदेश जाँदा गाउँमा अचेल ज्येष्ठ नागरिक मात्र बाँकी रहेको उहाँले दुःखेसो पोख्नुभयो ।

     

    राष्ट्रिय मानवअधिकार आयोगले गएको चैतमा देशभरिका ज्येष्ठ नागरिक आश्रमको अध्ययन गरी तयार पारिएको प्रतिवेदन सार्वजनिक ग¥यो । त्यस प्रतिवेदनमा एक दिवा सेवा केन्द्रमा भेटिएकी ज्येष्ठ नागरिकको गुनासोलाई यसरी लेखिएको छ, “घरको कुरा बाहिर भने इज्जत जान्छ ।

     

    पति छउन्जेल दुःख थिएन, पीर थिएन, खान लाउन समस्या थिएन । गाउँमा परिवारको इज्जत पनि छ । छोरा बुहारी दुवै काममा जान्छन्, नाति नातिनी स्कुल । घरमा भए नि मसँग कोही बोल्दैनन्, सबै आआफ्नै धुनमा । मेरोजस्तै अवस्था छिमेकी दिदीको पनि छ ।

     

    हामी घरमा खाना खाएर दिवा सेवा केन्द्र आउँछौँ । दिदी बहिनी कोठाको कुनामा बसेर दिनभरि रुन्छौँ, मनको बह पोख्छौँ । आँसु बगेपछि मन हलुका हुन्छ, घर फर्कन्छौँ । ” यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

    प्रतिकृया दिनुहोस