• सम–सामयिक

    मान्छेको मृत्युपछि आत्मा कहाँ जान्छ ?

      ओमकार


    मानिसहरु आत्मा भन्नेबित्तिकै कुनै एउटा भावनात्मक वस्तु ,गाएकहरुले गाउने गीतको एउटा सुन्दर शब्द अनि हरर चलचित्रका भुत प्रेत हुन् कि भन्ने सोच्दछन । तर यी सम्पूर्ण सोचहरुका पछाडी सत्यपूर्ण आधार छैनन् । आत्माको स्वरुप अनि गुणको बारेमा गीतामा जति सुन्दर बर्णन कतै छैन –


    देहिनोऽस्मिन् यथा देहे कौमारं यौवनं जरा।

    तथा देहान्तरप्राप्तिर्धिरतस्त्र न मुह्यते ।

     

    जसरी यो शरीरधारी आत्मा निरन्तर बाल्यावस्थाबाट युवावस्थामा र युवावस्थाबाट वृद्धावस्थातिर सरिरहन्छ, त्यसैगरी यो आत्मा एउटा शरीरको मृत्युपछि अर्को शरीरमा स्थानान्तरित हुने गर्दछ । यस किसिमको परिवर्तनलाई देखेर धीर पुरुषहरू मोहित हुँदैनन् ।

     

    आत्माले शरीर बदल्दै गरेको

     

    बास्तवमा प्रत्येक प्राणी एउटा पृथक आत्मा हुन् । प्रत्येक प्राणीले क्षणक्षणमा आफ्नो शरीर परिवर्तन गरिरहेका हुन्छन् । ती कहिले बालक बन्दछन् कहिले युवा हुन्छन् र कहिले बूढा हुन्छन् । तर त्यो बालक युवा र वृद्धमा आत्मा एउटै हुन्छ, त्यसमा कुनै परिवर्तन आउँदैन। यो आत्माले एउटा शरीरको मृत्युपछि अर्को शरीर फेर्दछ ।

     

    यसरी आगामी जन्ममा चाहे भौतिक होस् वा आध्यात्मिक, अर्को शरीर निश्चित नै पाइने भएपछि अर्जुनले भीष्मका लागि होस द्रोणाचार्यका लागि होस्, शोक गर्नुपर्ने कुनै कारण देखिदैन । बरु अर्जुन उहाँहरूले बूढो शरीर छोडेर नयाँ शरीर र नयाँ जीवन, नयाँ शक्ति प्राप्त गर्न लाग्नुभएकोमा खुसी हुनपर्ने हो।

     

    यसरी शरीर परिवर्तन हुँदा जीवनमा गरिएका कर्म अनुसार नाना प्रकारका सुखभोग र दुःखभोगको लेखाजोखा हुन्छ । भीष्म र द्रोण महान् आत्मा हुन्, त्यसैले उनीहरूले आगामी जन्ममा अवश्य पनि आध्यात्मिक शरीर प्राप्त गर्नेछन् वा त्यो नभए कम्तीमा पनि सांसारिक सुखभन्दा श्रेष्ठ स्वर्गीय सुख भोगका लागि स्वर्गीय शरीर प्राप्त गर्ने नै छन् ।

    यस अर्थमा पनि उनीहरूका लागि शोक गर्नुपर्ने कुनै कारण छैन । आत्माको यो ज्ञान जानेका धिर मानिसहरु शरीरको परिवर्तनबाट मोहित हुँदैनन् । खण्ड खण्ड भएर आत्मा टुक्रिन सक्दैन भन्ने आधारमा आत्मा एउटै हो भन्ने मायावादी सिद्धान्त मान्य हुन सक्दैन ।

     

    यदि त्यसलाई स्वीकार गर्ने हो भने विभिन्न आत्माको विभाजनले परमात्मालाई पनि विभाज्य र परिवर्तनीय बनाउँछ जुन कुरा परमात्मा अपरिबर्तशील छ, भन्ने सिद्धान्तको विरुद्ध हुन जान्छ । गीतामा पुष्टि गरिए जस्तै परमात्माको विखण्डित अंश पनि सनातन छ वा नित्य अस्तित्ववान् छ र त्यसलाई क्षर भनिन्छ, किनभने तिनीहरूमा भौतिक प्रकृतितिर अध:पतन हुने प्रवृत्ति हुन्छ ।

     

    यी टुक्रिएका अंशहरू नित्यनिरन्तर टुक्रिएको अवस्थामै रहन्छन् । मुक्ति प्राप्त गरिसकेपछि पनि आत्माहरू विखण्डित रूपमै विद्यमान रहन्छन् । तर एक पटक मुक्त भइसकेपछि ती आत्माहरु परमात्माका साथमा सच्चिदानन्दमय रूपमा रहन पाउँदछन् ।

     

     

    परमात्मा नामले जानिने र हरेक शरीरमा उपस्थित रहहुने परम आत्मामाथि प्रतिविम्बवादको सिद्धान्त लागू हुनसक्दछ। परमात्मा प्राणीहरूभन्दा भिन्न हुनुहुन्छ।

     

    पानीमा आकाशको प्रतिविम्ब पर्दा त्यहाँ सूर्य, चन्द्र तथा ताराहरूको प्रतिविम्ब पनि देखिन्छ। ताराहरूको तुलना जीवात्मासँग र सूर्य तथा चन्द्रमाको तुलना परमात्मासँग गर्न सकिन्छ । यहाँ टुक्रिएको तथा खण्डित आत्माको प्रतिनिधित्व अर्जुनद्वारा भएको छ भने परमात्माको प्रतिनिधित्व भगवान् कृष्णद्वारा भएको छ । कृष्ण र अर्जुन समान स्तरका होइनन् ।

     

    यदि अर्जुन कृष्णकै समान स्तरका भएको भए र कृष्ण अर्जुनभन्दा श्रेष्ठ नहुनुभएको भए उनीहरूवीचको शिक्षक र विद्यार्थीको सम्बन्धको कुनै अर्थ रहने थिएन । यदि भगवान् मायाबाट मोहित हुने भए एक जना शिक्षक र अर्को शिक्षार्थी बन्नुपर्ने कुनै आवश्यकता नै थिएन ।

     

    मायाको बन्धनमा बाधिएको व्यक्ति आधिकारिक शिक्षक हुन नसक्ने भएकाले उसको शिक्षा पनि अर्थहीन हुनपुग्दछ । यस्तो परिस्थितिमा के मान्नुपर्दछ भने भगवान् कृष्ण परमेश्वर हुनुहुन्छ । उहाँ मायाद्वारा मोहित हुने अर्जुन जस्ता जीवात्माको स्तरभन्दा माथि हुनुहुन्छ, श्रेष्ठ हुनुहुन्छ। हरे कृष्ण

    प्रतिकृया दिनुहोस