• समाचार

    चार दशकअघि कर्णालीको बाढीबाट विस्थापित हुँदा…

      रासस

    कर्णाली नदीमा २०४० सालमा आएको बाढी अझै पनि धेरै विस्थापितको मनमा ताजै छ । त्यतिबेलाको बाढीले करोडौँ रुपैयाँको क्षतिमात्रै गरेन, सयौँ परिवार विस्थापित पनि भए । बाढीले कर्णाली नदीको तटीय क्षेत्रमा धेरै नोक्सान ग¥यो । त्यतिबेला नागरिकले सहरभन्दा घाँस दाउरा गर्न सजिलो र गाई वस्तु चराउन सहज ठाउँलाई बढी रोज्थे । त्यसैले पनि कर्णाली नदीको तटीय क्षेत्र विशेष थियो । नजिकै जङ्गल भएका कारण पशु चौपायालाई बिहान लिएर जङ्गल छाडेपछि साँझ ल्याउन जानु पर्दैनथ्यो ।

    विसं २०४० को बाढीका कारण विस्थापित हुनुभएका टिकापुरका बन्धु डगौंरा थारूको ३५÷४० बाख्रा, अन्नपात सबै बाढीले बगाएर विस्थापित हुँदा उहाँलाई निकै चिन्तित बनायो । उसो त वर्षातको समयमा सधैँ चिन्तामा रहने कर्णाली नदीको तटीय क्षेत्रका स्थानीयवासीलाई बाढीले निकै सताउँदै आएको थियो । विसं २०४० को बाढीमा त थारूको मात्रै होइन त्यहाँ बसोबास गर्ने कसैको केही पनि बचेन । बाढीपछि उक्त बस्ती स्थानान्तरणका लागि धेरै प्रयास भए । अन्तिममा गाउँका बडघरसमेत रहनुभएका थारूको प्रयासमा त्यहाँको बस्ती नयाँ टीकापुरमा स¥यो । बस्ती स्थानान्तरणका लागि पनि उनलाई निकै सकस भयो ।

    “बर्खाको दुई महिनाको पीडा सबैले क्षणभरमै भुलिहाल्थ्ये । अरु दिन त्यहाँका नागरिकलाई धेरै सहज थियो”, थारूले भने, “त्यहीँ सहजताका कारण पनि त्यो ठाउँ कसैले छाड्न मानेनन् । अन्तिममा थारू समुदायका छ÷सात घरबाट जग्गाको लालपुर्जा कब्जा गरेर त्यो बस्ती सार्न सफल भएका थियौँ ।”

    तत्कालीन टीकापुर नगर विकास समितिले बाढी प्रभावित क्षेत्रका जसको जति जग्गा थियो त्यहीँ बराबरको जग्गा बाढीबाट विस्थापितलाई उपलब्ध गराएको थियो । थारू त्यतिबेला नयाँ टीकापुरमा २५ बिघा जग्गा प्राप्त गरेको बताउँछन् । “वर्षायाममा सधैं रातभर चैनको निद्रा सुत्न पाइँदैनथ्यो । सबै त्रासमा हुन्थ्यौँ”, उनले भने, “बस्ती सार्ने बेलामा मलाई धेरैले गाली गरे । कतिसँग बोलचाल नै बन्द भयो । अहिले त्यहाँबाट बसाइँ सरेर आएकाहरू करोडौं रुपैयाँका मालिक बनेका छन् ।” उनले २५ बिघा जग्गा प्राप्त गरेको भए पनि अहिले थारूसँग एक कठ्ठा जग्गा मात्र बाँकी छ । उनले बेचेको जग्गामा अहिले घना बस्ती देख्न सकिन्छ ।

    त्यस्तै कर्णालीको तटमा रहेको भगरैयाँगाउँ पनि टीकापुरको बस्ती स्थानान्तरणपछि त्यहाँबाट सारियो । करिब ३०० परिवारलाई नगर विकास समितिले त्यहाँ भएको अनुसारकै जग्गा उपलब्ध गराएर बस्ती सारेको  थारू बताउँछन् । “हामी बसेको बस्ती सरेपछि भगरैयाँ गाउँ सरेको हो । त्यतिबेला भगरैयाँ गाउँ हामी बसेको गाउँभन्दा बढी जोखिममा थियो । त्यहाँ त बर्सेनि बाढीको बितण्डा भइ नै रहन्थ्यो”, उनले भने, “हाम्रो बस्ती स्थानान्तरण भएको केही वर्षपछि मात्रै भगरैयाँ गाउँ सरेको थियो ।”

    गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म आएको बाढीलाई पनि स्थानीयवासी २०४० सालपछिकै ठूलो रूपमा हेरेका छन् । उसो त यसअघिका कयौँ बाढीमा विस्थापित भएकाकै कारण हाल टीकापुरमा सात शिविर छन् । शिविरमा बसेका नागरिकले अझै पनि बाढीको पीडालाई कम गर्न सकेका छैनन् । टीकापुरको साहीपुर, सिम्राना, बनगाउँ, दौलतपुरलगायतका बस्ती स्थानान्तरणको कुरा पटक–पटक उठ्ने गरेको छ ।

    “अब बस्ती स्थानान्तरणका लागि सजिलो छैन । पहिले टीकापुरमा बस्ती बसाल्नु थियो । जति जग्गा माग्यो त्यति पाइन्थ्यो”, थारूले भने, “अहिले जग्गा नै छैन । स्थानान्तरण गरिएका बस्तीलाई कहाँ लिएर राख्ने भन्ने विकास समितिसँग निकै चुनौती छ । त्यसकारण पनि बस्ती स्थानान्तरण नभई त्यसको विकल्प खोज्नु उचित देखिन्छ ।” रानी जमरा कुलरिया सिँचाइ आयोजनाले काम गर्दै आएको भए पनि संरचना विकासले पूर्णता पाउन नसकेको अवस्थामा बाढीको जोखिमबाट बच्न नसकेको स्थानीय भागिराम चौधरी बताउँछन् ।

     

    प्रतिकृया दिनुहोस